धादिङ र गोरखाको सिमामा रहेको दशकौं पुरानो ऐतिहासिक सत्तल अलपत्र अवस्थामा

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ २२, २०७८

रमेश दनै
गोरखा जेष्ठ २२ ।
धादिङ र गोरखाको सिमानामा रहेको दशकौं पुरानो ऐतिहासिक स्थल भिमेनसेन थापाको सत्तल संरक्षणको अभावमा अलपत्र अवस्थामा छ ।

नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले बनाउनु भएको बस्ने घर, पुजा गर्नका लागि बनाइएको मठ–मन्दिर अहिले जीर्ण बनेको छ ।
संरक्षण अभावका कारण मन्दिर वर्षौ देखि झाडीले ढाकेको छ । मन्दिरमा भएका पुराना कलात्मक वस्तुहरु चोरी हुन थालेको स्थानीयहरु बताउँछन् ।

पुराना पुराना ढुङ्गमा कुँदेर बनाइएका कलात्मक मुर्तिहरु सबैजसो फुटिसकेका छन् । एउटै ढुङ्गाले बनाएका लामा लामा खम्वाहरु सबै जसो भाँचिएका छन् ।

अहिले पनि मन्दिर परिसरमा धेरै पौराणिक बस्तुहरु यत्रतत्र छरपस्ट देख्न सकिन्छ र सरोकारवाला निकायले गरेको व्यवस्थाका कारण ऐतिहासिक स्थलको संरक्षण हुन नसकेको आरोप स्थानीयहरु लगाउँछन ।

दशकौंको इतिहास बोकेका यस्ता स्थलहरुको संरक्षण गर्नुपर्ने धादिङ र गोर्खाका स्थानीयहरुले स्थानीय सरकार सँग माग गरे पनि स्थानीय सरकारहरुले संरक्षण्को लागि ठोस योजना बनाउन सकेका छैनन् ।

यसको संरक्षण र समबर्धन गर्न सकेको खण्डमा आन्तरिक एवं वाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयको विश्वास छ । यति मात्र नभई इतिहास अध्ययनकर्ताहरुका लागि यो अनुसन्धान गर्ने ठाँउ समेत बन्ने देखिन्छ । धादिङको ज्वालामुखी गाउँपालिका र गोर्खाको शहिद लखन गाउँपालिकाको सिमानास्थित बुङ्कोटघाटमा यो सत्तल रहेको छ ।