
युएई । खाडी मुलुकहरुबाट गैरआवासीय नेपालीहरुले पठाएको ५ सय ६० वटा अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई उक्त सिलिन्डर हस्तान्तरण गरिएको हो ।
गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार ति सिलिण्डरहरु सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा एक-एक सय, लुम्विनीमा २ सय, प्रदेश २ तथा गण्डकीमा ८५-८५ वटा पठाउन अनुरोध गरिएको छ ।
ओमान, यूएई, कतार, साउदी अरब, कुबेत र बहराईन लगायतका खाडी मुलुकहरुमा रहेका एनआरएनए राष्ट्रिय समितिहरुले त्यहाँ कार्यरत श्रमिकहरुसँग चन्दा संकलन गरेर ती अक्सिजन सिलिण्डरहरु नेपाल पठाएका हुन् । एनआरएनए ओमानको संयोजन तथा नेपाली दुतावास ओमनको सहयोगमा ७५ लाख रुपैयाँ बराबरको सिलिण्डर खरिद गरिएको थियो ।
नेपालमा अक्सिजन पठाऔ, आफन्तको ज्यान बचाऔ अभियानअन्तर्गत थप सहायता पनि आउने क्रममा रहेको पन्तले बताएका छन् । उनका अनुसार ६ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटर एनआरएनएले तत्कालै उपलब्ध गराउने भएका छन् ।