हाम्रो देश यस्तो प्रकृतिको उपमाको देश हो, जहाँ हरेक प्रकारको प्रकृति प्रेम महसुस गर्न सकिन्छ । हरेक किसिमको मौसमको स्वर्गीय आनन्द लिन सकिन्छ । हरेक समय सामान्य तापक्रम र प्रकृतिको अनुपम सुन्दरता हुदा हुँदै पनि जाडो यामले मनलाई अलिकती तरंगित बनाईदिन्छ । हरेक यामको आफ्नै सुन्दरता भएरै पनि बर्खा यममा बाढिपहिरो अनि हिउँदमा चिसोका कारण खेप्नुपर्ने कष्ट, हामी नेपालीको प्रत्येक वर्षको नियमीत प्रक्रिया बनेको छ । सरकारी तथ्यांकले बताएको छ कि हिमाल–उच्च पहाडका २१ जिल्लामा हिमपात अनि तराईका ११ जिल्ला शीतलहरको उच्च जोखिम रहेको छ भने पहाडी भेगका अन्य ३४ जिल्लामा समेत चिसोको ठुलै प्रभाव पर्न सक्छ । सरकारी तथ्यांक मात्रै मान्ने हो भने बिगत २/३ वर्षमा सितलहरकै कारण झण्डै १ सय भन्दा बढि मनिसको ज्यान गैसकेको छ भने सोही अवधिमा ३ हजार भन्दा बढी चौपाए मरेका छन् । तर तथ्यांक बाहिर यो संख्या कति लुकेको छ सायद पीडा भोग्नेहरुलाई मात्र थाहा होला ।
एक वर्ष भन्दा लामो समयको कोभिड–१९ आतंकको वाबजुद अवस्था केही सामन्य बन्दै छ । सर्वसाधारण जनता सुरक्षित तवरले ब्यबसाय लगायतका क्षेत्र चलायमान बनाउन लागि रहदा बढ्दै गएको चिसो मौसमले फेरि प्रतिकुलता सिर्जना गरेको छ । नेपालको तराई तथा पहाडका अधिकांस क्षेत्रका बासिन्दा यतिबेला चिसो मौसमका कारण थप सकसपूर्ण जीवन जिउन बाध्य छन् । तापक्रम घट्दै जाँदा हिमाली क्षेत्रमा हिमपात अनि तराईमा तुसारो सहित बाक्लो हुस्सुले जनजिवन कष्टदायी बनाउन सुरु गरिसकेको छ ।
जाडो मौसम बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित प्राय छ। हुनत यो एक प्रकृति जन्य समस्या हो, यसलाई रोक्न वा छेक्न त सक्दैन, तर समयमै आवश्यक पूर्वतयारी गर्न सकियो भने सम्भाव्य क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ ।
यतिखेर पहाडी जिल्लाका तुलनामा तराईका तराई र हिमाली जिल्लाहरुमा चिसोको समस्या तीब्र हुँदै गइरहेको छ । तराईमा त बाक्लो हुस्सु र चिसोको बहाब संगै शीतलहरसमेत सुरु भइसकेको छ। अघिल्लो वर्षहरुमा जस्तै यो वर्ष पनि तराई क्षेत्रका आर्थिक कमजोर जमात चिसोको प्रत्यक्ष मारमा पर्न थालेका छन् । दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका, सुकुम्बासी, गर्भवती, वृद्धवृद्धा र बालबालिकाहरु चिसोको प्रत्यक्ष कष्ट झेल्न बाध्य बनिरहेका छन । यस्तो अवस्थामा उनीहरूलाई जाडोबाट जोगाउन उचित तवरले गाँस, बास र न्यानो कपडाको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु मिल्दैन । असहाय अनि निमुखा जनताको सुरक्षा र संरक्षक राज्य भएकोले राज्य स्तरबाटै उनीहरूको लागि उचित बम्दोबस्त गर्न सक्नुपर्छ । राज्यसँगैै सबै सक्षम नागरिक मानव सेवामा लागेका धार्मिक तथा सामाजिक संघसंस्थाहरू एकजुट भै न्युनतम मानवीय धर्म निर्वाहमा लाग्नु पर्दछ । मानव सेवा नै समाज सेवाको सबैभन्दा उच्चकोटीको सेवा हो र सबै भन्दा ठूलो धर्म हो भन्ने भावनालाई हामी सबैले यस्तै स्मयमा अनुसरण गर्न सक्नुपर्छ ।
त्यसो त तराइ तथा हिमालका विभिन्न ठाउमा प्रत्येक बर्ष चिसोका कारण अकालमै मृत्युु वरण गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको छ भने निमोनिय, श्वासप्रश्वासमा समस्या जस्ता स्वास्थ्य समस्यको सामना गर्नु यस क्षेत्रका बासिन्दाको दैनिकिनै बनेको छ । अहिलेको आधुनिक समाजमा आईपुग्दा समेत कुनै ठाउमा जाडोकै कारण मृत्युुवरण गर्न पर्नु हाम्रो लागि लज्जाको अवस्था हो । यस तर्फ सबैले बेलैमा सोच्नु अपरिहार्य छ । जाडो मौसममा यस्ता समस्या रोक्ने उपाय भनेको न्यानो कपडा अनि तातो आहार नै हो ! प्रत्येक वर्ष दोहोरिने यो समस्यालाई सामन्य समस्या हो भन्दै हामीले नजर अन्दाज गर्यौ भने त्यो मानविय संबेदनसिलता माथिको प्रहार हुनेछ ! त्यसैले जस्ले जहाँबाट जे जसरी सहयोग गर्न सकिन्छ त्यसको लागि समयमै जुट्नु नितान्त आवश्यक छ । चिसो मौसममा रोगका जिवाणुहरु सकृय हुने हुदा कुनै पनि रोगले छिटै आक्रमण गर्न सक्छ । यसै पनि हामी यतिखेर कोभिड– १९ को महामारीको सामना गरिरहेका छौँ, अध्यायनले देखाए अनुसार चिसो मौसम कोभिड भाईरसको लागि अझै अनुकुल भएको र अन्य भाईरसले समेत छिटै आक्रमण गर्ने हुँदा नितान्त सचेत हुनु आवश्यक छ । यस्तो अवस्थामा आम नागरिकहरूले सरकारको मात्र मुख ताक्ने होईन आफ्नो स्वास्थ्यको हिफाजतको लागि आफैं दृढ भएर लागि पर्नु पर्दछ ताकी सम्भाव्य जोखिमबाट वचन सकियोस । यसको लागि चिसो मौसममा शरीरको तापक्रम बढाउने किसिमका खाना खाने, तातो तरल पदार्थहरु सुप, दाल जस्ता परिकार, तातो खिचडी र रेसादार सागपात, गेडागुडि पर्याप्त मात्रामा खानुपर्दछ । त्यसो त राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रत्यक वर्ष जाडो याममा मौसमी प्रतिकूलताका कारण हुन सक्ने जनधनको क्षति, तापक्रमको अवस्था र मानिसको बसोबासको स्थितिका आधारमा विभिन्न सुचि र तयारी पनि गर्ने गरेको छ तर काम गराईको वास्तविक महसुस हुन भने सकेको छैन । कुन जिल्लामा कस्तो जोखिम छ भनेर गरिने पुर्व अनुमानले जोखिम नियन्त्रण गर्न तव सघाउ पुर्याउछ जव योजना संगै कार्यन्वयनलाई पनि तदारुकता दिईन्छ । तर हामी कहाँ योजना अनुसारको काम नहुने परिपाटी नै बसिसकेको छ । त्यसैले अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तय गरेको क्षेतमा सम्भावित जोखिमसंग सरकार र नागरिक स्तरबाटै ढिला गर्ने समय छैन ।
जाडो बढे संगै प्रतिकूल मौसमकै कारण नागरिकले ज्यान गुमाउनुपर्ने परिस्थिति नआओस् भन्ने तर्फ सरकार, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधि हरुले ठोस पहल गर्नु गर्नु पर्छ र सोही अनुसार कार्यक्रम हरु अघि बढाउनु पर्दछ ।
हुनत खासमा चिसो मात्रै आफैंमा सम्पूर्ण समस्या त होइन । तर सर्वसाधारणमा यो संग जुध्नका लागि आवश्यक उचित स्रोत–साधन नहुनु चाहिँ हाम्रो मुख्य समस्या हो । यस्तो अबस्थामा अभिभावकत्त्वत सरकारकै हो र पनि हामी स्वयम पनि उत्तिकै जिम्मेवार बन्न सक्नुपर्छ । स्वयम सरकार संग पनि पर्याप्त श्रोत साधनको आधार नहुनु अनि भएको स्रोतको पनि समुचित वितरण नहुनु चाहिँ हामी जनताको लागि नमजा अनि पिडाको बिषय हो । त्यसोत अहिलेको अवस्थालाइ हेर्ने हो भने यी यावत कुराहरुलाई राजनितिक आरोप प्रत्यारोप अनि पद र प्रतिस्ठाले ओझेलमा पारिदिएको छ । एकातिर सत्ताको उन्माद अर्को तिर सत्ता प्राप्तिको चरम अपेक्षाको खेलले जनता अभिभावक बिहिनताको अवस्थामा पुगेका छन्। न जनचासो अनि जनस्वास्थ्यको बारेमा चासो छ मन बदलिदो मौसम प्रतिकुलतामा । यस्तो अवस्थामा हामी आफै स्वयम सचेत र जागरुक बन्नुको बिकल्प छैन । राज्यले आफ्नो शक्ति र सामर्थ्य अनुसार जनस्वास्थ्य लाई गम्भीरताका साथ लिन नसक्नु हाम्रो राज्य संयन्त्रको ठूलो कमजोरी होईन र ? शीतलहर छल्न सामान्य बासस्थान संगै एकजोर न्यानो कपडा र एक–दुई थान सिरक–डस्नाको अभावमै नागरिकहरु कठ्यांग्रिनु पर्ने अवस्था छ । यस्तो अवस्थामा सरकारले टुलुटुलु हेरेर बस्ने होईन समस्यामा परेका जनतालाई न्यूनतम खाद्यान्न र बन्दोबस्तीका सामग्री सहित उचित ब्यनस्थापनको जिम्मा लिनै पर्छ । सरकारले ‘सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन–२०७७’ स्वीकृत त गरेको छ तर त्यस अनुसारको उचित व्यवस्थापन र कामकारबाही हुन सकेको छैन । साच्चै भन्नू लर्दा आफ्ना नागरिकलाई चिसो र सितलहरबाट जोगाउन ठोस तथा पर्याप्त तयारी सहितको कदम चाल्न सकेकै छैन । गृह मन्त्रालयले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन सचिवहरूलाई बोलाएर चिसोका कारण हुने जनधनको क्षति न्यूनीकरणबारे छलफल पनि गरेको छ, यसबाट जनता केही आसावादी थिए र छन् । तर पछिल्लो समय देशमा सिर्जित परिवर्तित राजनितिक घटना क्रमले यी यावत कुराहरुलाई ओझेलमा पार्दै गएको छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानू नितान्त आवश्यक छ ।
विभिन्न बिपदबाट ज्यान गुमाएका मानिसका परिवारलाई २ लाखका दरले थप राहत दिने व्यवस्था पनि गरेको छ तर राहत दिने बहानमा चिसोबाट हुने क्षति न्यूनीकरण तथा रोकथामको लागि आवश्यक पहल गर्नु पनि उत्तिकै जरुरी छ । यो मनन गर्नु जरुरी छ कि मान्छेको ज्यानलाई २/५ लाखको राहतले कुनै महत्त्व राख्दैन । सरकारी घोषणा अनुसार प्राकृतिक बिपत्यिबाट हुन सक्ने क्षति न्यूनीकरण तथा रोकथाम कार्यक्रम सञ्चालन गर्न केन्द्रीय विपद् व्यवस्थापन कोषबाट शीतलहरको उच्च जोखिममा रहेका तराईका ११ जिल्लालाई १५ लाखसम्म र बाँकी ११ जिल्लालाई १० लाख, हिमाली २१ जिल्लालाई ७ लाखसम्म, पहाडी र उपत्यकासहितका ३४ जिल्लालाई ५ लाखसम्म रकम पठाइएको छ । तर के यो रकमले सबै पिडितहरुको पीडा अनि चपेटामा मल्हम लगौन सकिएला ?
अबको संकल्प न्यूनतम गाँस, बास र कपासबाट समेत वञ्चित भएको वर्गलाई चिसोबाट हुन सक्ने जोखिमबाट जोगाउन न्युनतम मानविय अबिभारा बहन गरौं । यस्तो कदममा पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला र बालबालिका लाई राख्ने कोसिस गरौं । सरकारले तय गरेको लक्षित कार्ययोजनालाई सार्थकता दिन आफ्नो ठाउँबाट सक्दो पहल गरौं । प्रदेश र स्थानीय तहको बिशेष समन्वयमा नागरिक अगुवा र विभिन्न संघ संस्था सहितको सम्लग्नतामा बिशेष कार्ययोजना सहित अघि बढ्ने कोसिस गरौं । आफ्नो क्षेत्रका कुन–कुन नागरिक बढी जोखिममा छन् र उनीहरूलाई चिसोबाट बच्न के–कस्तो सहयोगको खाँचो छ भन्ने कुराको अभिलेख सहित कार्यक्षेत्रमा लागौं । यति गर्न सकेको खण्डमा मात्र सरकार तथा अन्य विभिन्न स्तरबाट तय भएका नीति तथा कार्यक्रमलाई प्रभावकारी ढंगले लागू गर्न सहज वातावरण निर्माण हुन सक्छ । समग्रमा तीनै तहका सरकारले आपसमा उचित समन्वय सहित चिसोबाट हुन सक्ने सम्भाव्य जोखिम र क्षति न्यूनीकरण गर्न यथासक्य पहल गरौ र आम नागरिकलाई न्युनतम मानवीय अधिकारको प्रत्याभुती गराउनै पर्छ ।