धादिङ कार्तिक १७ । नीलकण्ठ नगरपालिकाको शिक्षा प्रमुखको लापर्वाहीले शिक्षकहरुको कोरोना बीमा हुन नसकेको पाईएको छ । नीलकण्ठ नगरपालिकाले नगरपालिका भित्र रहेका सम्पूर्ण शिक्षकहरुको नि:शुल्क कोरोना बीमा नगरपालिकाले नै गरि दिने बताए पछि कोरोना बीमा नगरी बसेका शिक्षकहरुको अहिले मारमा परेका हुन् ।
कोरोना संक्रमित भएका शिक्षक कोरोना बीमाको भुक्तानी दावी गर्दा बीमानै नभएको पाइएको महेन्द्र माविका शिक्षक शिव प्रसाद रिजालले बताउनु भयो । हाम्रो विद्यालयका सबै शिक्षकहरुको कोरोना बीमा नै नगरेको रहेछ । शिक्षक रिजालले यो समस्या महेन्द्रोदयमा मात्रै हैन अन्यत्र समेत यस्तै भएको छ, यो चरम लापर्वाही हो, छानवीन गरी दोषी माथि कार्वाही गर्न समेत माग गर्नुभएको छ ।
यस विषयमा नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेघनाथ कोईरालाले नगरपालिकाले सबै शिक्षकहरुको १ लाखको कोरोना बीमा गरि दिने भने कै हो । प्र.अ. हरुलाई बोलाएर डकुमेन्ट पठाउन पनि भनिए कै हो, तर समयमा कागजपत्र नआईपुगेकोले १ लाखको नि:शुल्क कोरोना बीमा हुन सकेन ।
नीलकण्ठ नगरपालिकामा १ लाखको बीमा १ जना शिक्षकको पनि हुन नसकेको साँचो भएको बताउँदै स्रोत व्यक्ति कोरालाले संक्रमितले २५ हजार भुक्तानी दावी गर्न पाउने गरि डकुमेन्ट प्राप्त केहि शिक्षकको भने कोरोना बीमा भएको बताउनु हुन्छ ।