साउदीमा नेपाल सरकार मुर्दाबादको नारा लाग्यो

Avatar photo
हरि नेपाली
सोमवार, भदौ २२, २०७७

साउदी भाद्र २२ । साउदीको दमाम स्थित एक सप्लाइ कम्पनीमा कार्यरत सयौं नेपालीहरुले नेपाल सरकार र नेपाली दूतावास विरुद्ध नाराबाजी गरेका छन् ।

सोमबार साउदीअरब बाट नेपालका लागी तय गरिएको नेपाल एअरलाइन्सको फ्लाइटमा उनिहरुको नाम परेको भएपनि टिकटका लागि कम्पनीले रकम उपलब्ध नगराएको र दूतावासलाई सम्पर्क गर्दा समेत ठोस पहल हुन नसकेपछी उनिहरु नाराबाजीमा उत्रेको साउदी बाट नारायण ढकालले जानकारी दिएका छन् ।

लामो समय देखि साउदीमा अलपत्र परेका उनीहरुले दूतावासलाई बारम्बार आफ्नो समस्या राख्दा समेत नेपाल फर्किने वातावरण नमिलेको र समस्या राख्दा पैसा लिएर जानुस टिकट लिनुस भनेपछि थप आक्रोशित भएको हुनसक्ने ढकालको भनाइ छ ।

घटना बारे साउदी स्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको बताउदै समस्या समाधानको लागि सम्बन्धित कम्पनी संग पहल गरिसकेको र उनिहरुलाइ केहि दिन भित्रै नेपाल फर्काउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीमा कार्यरत सयौं नेपालीहरुको उपस्थितिमा आइतबार दिउँसो भएको नाराबाजीमा नेपाल सरकार मुर्दावाद ,नेपाली दूतावास खारेज गर जस्ता नारा घन्किएका थिए ।