बेनीघाटमा यसरी मनाइयो गाईजात्रा

Avatar photo
दिपेश कडेल
बुधबार, साउन २१, २०७७

धादिङ साउन २१ । धादिङको बेनीघाट रोराङ स्थित बेनीघाट बजारमा विभिन्न साहित्यिक व्यङ्ग्य वचन गरि गाईजात्रा मनाईएको छ ।

साहित्यको उर्वरभूमीको रुपमा रहेको धादिङ बेनिघाटका युवाहरुले साहित्यिक व्यङ्ग्यात्मक कार्यक्रम गरि मंगलबार गाईजात्रा पर्व मनाएका हुन् ।

सर्जकहरुले कविता होस्, या प्रहसन विकृती र विसङ्कतीको खुलेरै साहित्यका माध्यमबाट व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

गाइजात्रे कविता: साँढे दुई वर्ष बाँकी नै छ

महान त्यागी
(भ्रष्टाचार)
कहाँ कति छ भ्रष्टाचार, देखाउनोस् मैले भनेकैं हुँ
आफ्ना जति जोगाएर, अरुलाइ कारवाही गरेकै हुँ
कमिसनको खेलमा चतुर, ओम्नी समूह र यति
गोकुल, विना, शारदा, पप्पु, यस्ता छन् कति कति
कसलाइ कसरी बचाउने, त्यस्तो विमर्श बाँकी नै छ
पख्नोस्! नहत्तारिनोस् ! साँढे दुई वर्ष बाँकी नै छ

(विकास)
विकास विरोधीहरुले, विकास कतै छैन भन्छन्
यत्रो भुँडी र पुष्ट गाला, यो त विकास हैन भन्छन्
कार्जेकर्तामाझ कनिका सरी, पैसा ह्वारह्वार फालेकै छु
झमझम पानीको विचमा पनि, सडक विस्तार थालेकै छु
यो समृद्धि र उन्नतिको, चरम उत्कर्ष बाँकी नै छ
पख्नोस्! नहत्तारिनोस् ! साँढे दुई वर्ष बाँकी नै छ

(कोरोना)
सारा जन भ्याक्सिन खोज्न भनी, त्यसै किन लाग्दछ
बेसार पानी खानुस् सबले, कोरोना त्यसै भाग्दछ
गरिब मरे भोकले, कोरोना भन्न पाइयाछ
कमसल कीट खरिदमा, दर्‍हो नाफा खाइयाछ
अरु कस्तो फाइदा छ यसमा, मुख्य निष्कर्ष बाँकी नै छ
पख्नोस्! नहत्तारिनोस् ! साँढे दुई वर्ष बाँकी नै छ

(नक्सा)
नाका बन्द हुंदा डटेर, सामना पनि गरेकै हुँ
आँखा छली लैनचौर प्रभुको, शरण पनि परेकै हुँ
केही समयलाइ भए पनि, दुश्मन टाढा बनाइदियो
अहोभाग्य चुच्चे नक्साले, साख र सत्ता जोगाइदियो
कालापानी र लिपुलेकको, गुलियो आदर्श बाँकी नै छ
पख्नोस्! नहत्तारिनोस् ! साँढे दुई वर्ष बाँकी नै छ

(किचलो)
प्रचण्ड, माधव औ वामदेव पनि, शत्रु सरी भएछन्
बादल पनि मै माथी बर्सन, दुश्मनकै खेमामा गएछन्
लिसो जस्तै टाँसिन सक्छु, हेर्छु कस्को छ पाइन कति
भन्दैमा कहाँ हुन्छ छोड्दिन, सत्ताको यो आशक्ती
यो सुखसयल र सानन्दको, अपार हर्ष बाँकी नै छ
पख्नोस्! नहत्तारिनोस् ! साँढे दुई वर्ष बाँकी नै छ

उक्त कार्यक्रममा राजेन्द्र दहाल, राजेन्द्र नेकेतन, महान त्यागी, सुमन श्रेष्ठ, सुरज पाण्डे, इश्वर बाबू रेग्मी, सुमन खनाल, मिश्र शाक्य, राजेन्द्र कडेल, दिपक सिमखडा, रचना श्रेष्ठ, दिपेश कडेल, प्रयास सौरभ श्रेष्ठ लगायत दर्जन भन्दा बढी सर्जकहरुको प्रस्तुती रहेको दिपेश कडेलले बताउनु भयो ।