नेपालको राष्ट्रिय पुरुष फुटबल टोली क्वारेन्टिनमा

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १६, २०७७

काठमाडौं साउन १६ । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीलाई आजबाट होटलमा तय गरिएको क्वारेन्टिनमा राखिएको छ ।

फिफा विश्वकप २०२२ कतारको छनोट चरण अन्तर्गत दशरथ रंगशालामा हुने खेलका लागि तयारी गर्न केहि दिनका लागि राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडीहरुलाई क्वारेन्टिनमा राखिएको हो ।

कोरोना संक्रमणका कारण स्थगित भएका छनोट चरण अन्तर्गत खेलहरु नयाँ खेल तालिका अनुसार नेपालले दशैं र तिहार अघि खेल्नेछ । छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ ।

नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवाती पाँच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ गते चाइनिज ताइपेइ सँग खेल्नेछ भने अष्ट्रेलिया सँग असोज २७ गते प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिकमा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोटका खेलहरु सम्पन्न गर्नेछ ।