
धादिङ साउन ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा मौवा खोलाले ३ वटा घर बगाएको छ, भने धादिङ चितवन जोड्ने मौवाखोला पुल समेत जोखिममा परेको छ ।
निरन्तरको वर्षाका कारण उर्लिएको मौवाखोलाले अमृतबहादुर गुरुङको सहित ३ वटा घर बगाएको हो भने चितवान जोड्ने मौवाखोला पुलको पिल्लर साईटबाट पानीले खोल्दा सडकको पीच कटान भैसकेकोले पुल समेत जोखिममा परेको स्थानीयले धादिङपोष्टलाई बताए ।
चितवन र धादिङ जोड्ने मौवा खोला पुलको धादिङपट्टी पर्ने सडक बाढीले भत्काएको बेनीघाट रोराङ-१० का वडाध्यक्ष अम्बर गुरुङले बताए । उनका अनुसार मौवा खोलाले पुलको छेउपट्टी कटान गरेकोले यातायात अवरुद्ध छ ।

गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले अविरल वर्षाका कारण हुन सक्ने विपत्तीलाई ख्याल गर्न स्थानीयहरुलाई आग्रह गरेका छन् । सुरक्षित स्थानमा रहन र विपत्तीमा परेकालाई सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । गाउँपालिकाले समेत सुरक्षा कर्मी उद्दारका सामाग्रहरु तयारी अवस्थामा राखेको छ कहि कतै केहि भैहालेमा खवर गर्न समेत उनले आब्हान गरे ।