
धादिङ असार २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका ४ वटा जनवर्गिय संगठनले पार्टी एकताको पक्षमा दवाव दिँदै अध्यक्ष नेत्र पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।
राष्ट्रिय युुवा संघ नेपाल धादिङ, अनेरास्ववियू नेपाल धादिङ, अखिल नेपाल किसान संघ, प्रेस संगठन धादिङले पार्टी विभाजनलाई प्रोत्साहन गर्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन नेता तथा कार्यकर्ताहरुलाई सचेत गराउन भन्दै ज्ञापन पत्र बुझाएको हो ।
जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको नेतृत्व गर्दै ज्ञापन पत्र बोकेर धादिङबेसी स्थित पार्टी कार्यालय पुगेका राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य चन्द्रबहादुर सिलवाल मिलनले पार्टी एकतालाई खलबल पुर्याउने गरि कुनै गतिविधि नगर्न आग्रह गरेका थिए ।
स्वतन्त्र युवा धादिङको नाममा असार २४ गते धादिङबेसीमा प्रधानमन्त्री ओली पक्ष धरहरुले आन्दोलन गर्ने तयारी गरि रहेको बेलामा उक्त कार्यक्रममा लक्ष्यित गर्दै उनीहरुले जिल्ला अध्यक्ष पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै अध्यक्ष पौडेलले पार्टी एकताको लागि आफु र जिल्ला पार्टी गम्भीर रहेको र पार्टी केन्द्रलाई एकताको विकल्प नभएको दवाव दिई रहेको बताएका थिए ।
जिल्ला अध्यक्षलाई बझाईएको ज्ञापन पत्र
आम नागरिकको चाहना बमोजिम तत्कालिन दुई ठुला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भयो । उक्त पार्टीलाई गत चुनावमा आम नागरिकले करिव दुई तिहाइ बहुमत दिएर पार्टी एकिकरणलाई अनुमोदन गरे ।
समाजवादी लक्ष्य तय गर्न कै लागि नेकपालाई संघ, प्रदेश र स्थानिय तहमा अत्याधिक बहुमत प्राप्त छ । तिनै तहका अधिकांश स्थानमा नेकपाका सरकारहरु स्थापित रहेका छन् । सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउदै संविधानमा उल्लेख भए अनुरुप पार्टी र सरकार समाजवादी दिशामा अग्रसर हुनु पर्नेछ ।
इतिहासले सुम्पेको जिम्मेवारी र प्राप्त अबसरलाई कुशलता पुर्वक बहन गनु हाम्रो कर्तव्य र दायित्व हो । आफ्नो मुलभुत दायित्व पुरा गर्न छाडेर सरकार र पार्टी आन्तरिक विवादमा रुमलिन थालेको आभाष आम कार्यकताले गर्न थालेका छन् । सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको र पार्टी एकताले पुर्णता पाउन नसकेको सन्दर्भमा पार्टी भित्र र बाहिर असन्तुष्टिहरु देखा पर्न थालेका छन् । यसै विषयमा पार्टीको उपल्लो कमिटीहरुमा देखा परेका विवादहरु सतहमा देखा पर्न थालेका छन् ।
यसै सन्दर्भमा, हाम्रो संगठन पार्टी विभाजन र फुट होइन सुदृढ एकता आम कार्यकता र जनताको चाहना भएको तथ्य प्रष्ट पार्न चाहन्छ । पार्टी र देशको आवश्कता पनि एकता मात्र हो र एकताको कुनै विकल्प नभएको प्रष्ट पार्न चाहन्छौं । तसर्थ, कुनै पनि निहुमा पार्टी विभाजन हुने अथवा पार्टीलाई हानी हुने कार्य हामीलाई स्विकार्य नहुने प्रष्ट पार्न चाहन्छौं । नेतृत्वलाई विभाजनको दिशामा नलाग्न खवरदारीका साथ हार्दीक अनुरोध गर्दछौं । साथै, विभाजनलाई प्रोत्साहन गर्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुन सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई सचेत गराउन चाहन्छौं ।
पार्टी विधान, विधि र मुल्य अनुसार पार्टी संस्थागत रुपमा चल्नु पर्छ भन्ने हाम्रो स्पष्ट अडान रहेको छ । व्यक्ति विधान र संगठनको मातहत रहने स्थापित मान्यताबाट विचलित नहुन नेतृत्वलाई खवरदारी गर्दछौं ।
नाराहरुः
- पार्टी एकता –जिन्दावाद !
- एमसिसि –खारेज गर !
- नागरिकता विद्येयक –पारित गर !
- संसद अधिवेशन –चालु गर !
- व्यक्ति होइन, निति प्रधान पार्टी निर्माण गरौं !
- म सुदृढ र जनवादी केन्द्रियताको पार्टी चाहन्छु, नेता तिमी के चाहन्छौं ?
- म पार्टी निर्णयलाई सर्वोपरी ठान्छु, नेता तिमी के ठान्छौं ?
- हामीलाई व्यक्ति होइन, पार्टी चाहिन्छ –नेता तिमीलाई के चाहिन्छ ?
- फुटवादीहरु होशियार !
- पार्टी बैठकमा मन बाझाबाझ गर, बाहिरको तमासा बन्द गर !
- तिमी पार्टी मान्दैनौ ? पार्टी नमान्नेलाई हामी नेता मान्दैनौं !
- जनविश्वासमाथि कुठाराघात नगर ! जनसमुदायमाथि भर पर !
सह–संयोजक
राष्ट्रिय युुवा संघ नेपाल
सह–संयोजक
अनेरास्ववियू नेपाल
सह–संयोजक
अखिल नेपाल किसान संघ
संयोजक
प्रेस संगठन धादिङ