अभिनेता ऋषि कपुरको निधन

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख १८, २०७७

मुम्बई बैशाख १८ । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्।

हिजो मात्रै सास फेर्न अप्ठ्यारो भएपछि ६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको थियो ।

दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।

सेप्टेम्बर ४ सन् १९५२ मा मुम्बईको चेम्बुरमा बलिउडका शो म्यान राज कपुरका दोश्रा छोराका रुपमा जन्मिएका कपुरले सन् १९७० मा ‘मेरा नाम जोकर’ सिनेमाबाट बाल कलाकारका रुपमा डेब्यू गरेका थिए ।

उनले सो सिनेमाका लागि राष्ट्रिय पुरस्कार समेत जितेका थिए। उनको खास नाम ऋषि राज कपुर हो । बाल कलाकारका रुपमा बलिउडमा डेब्यू भएका ऋषिले ठूलो भएपछि डिम्पल कपाडियासँग ‘बबी’ सिनेमाबाट डेब्यू गरे ।

सन् १९७३ मा रिलिज भएको सो सिनेमा त्यतिबेला निक्कै चलेको थियो। उनले सो सिनेमाबाट फिल्मफेयरमा सर्वत्कृष्ट अभिनेताको अवार्ड हात पारेका थिए ।

त्यसपछि उनले सन् १९७३ देखि २००० सम्म ९२ बढी सिनेमामा काम गरे। उनले अधिकाशं सिनेमामा रोमान्टिक भूमिका निभाएका छन् ।

सन् २०११ मा ‘दो दुनी चार’ सिनेमाका लागि फिल्मफेयरमा क्रिटिक्स अवार्ड जितेका उनले सन् २०१७ मा कपुर एण्ड सन्स सिनेमाका लागि फिल्मफेयरमै सहअभिनेताको अवार्ड जितेका थिए।

अभिनेत्री नितु सिहंसँह विवाह-वन्धनमास बाँधिनु अघि दुबैजनाले सन् १९७३ देखि ८१ को अवधिमा एक दर्जन सिनेमामा काम गरेका थिए ।

उनले जीवनकालमा ५१ सिनेमामा सोलो हिरोको रुपमा काम गरे जसमा ११ वटा सिनेमा मात्रै वक्सअफिसमा सफल भए भने मल्टिस्टाररतर्फ काम गरेका ४१ सिनेमामा २५ सिनेमा मात्र सफल भएका थिए ।

‘बबी’ का अलावा ‘लैला मजनु’,’रफुचक्कर’, ‘सरगम’, ‘कर्ज’, ‘प्रेम रोग’, ‘नागिना’, ‘हनीमुन’, ‘चाँदनी’, ‘बोल राधा बोल’ आदि उनका सफल सिनेमा हुन् । दशककै हिट सिनेमा बनेको ‘बबी’मा सिनेमा उनले पैसाका कारण राजेश खन्नालाई खेलाउन असमर्थ भएपछि पाएका थिए।

सिनेमाका निर्माता तथा निर्देशक उनका बाबु राज कपुर हुन् । रिलिजपछि ‘बबी’ ट्रेन्ड सेटर सिनेमा बन्यो । यो सिनेमापछि बलिउडमा धनी(गरिबको परिदृश्यमा थुप्रै बलिउड ‘टिन एज रोमान्स’ सिनेमा बन्ने सिलसिला सुरु भएको थियो।