धादिङमा खद्यान्न र तरकारी पसल बिहान ३ घण्टा खुल्ने

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १५, २०७७

धादिङबेसी बैशाख १५ । धादिङ उद्योग वाणिज्य संघको संयोजनमा सोमबार बसेको व्यवसायीक संघ संगठनहरु सम्मिलित संयन्त्रको बैठकलेजारी लकडाउनमा खद्यान्न र तरकारी पसल खुल्ने समय परिवर्तन गरेको छ ।

बैशाख ४ गते देखि १० गते सम्म सबै पसल बन्द गरेको संयन्त्रले बैशाख ११ गते देखि बिहान ११ बजेदेखि ४ बजे सम्म खुलाउने गरेको निर्णय परिवर्तन गर्दै बैशाख २५ गते सम्मका लागि बिहान ७ बजे देखि १० बजे सम्म मात्र खुलाउने निर्णय गरेको हो ।

कोरोना भाईरसको रोकथामका बलियो आधार लकडाउन भएको ठहर सहित नेपाल सरकारले बैशाख २५ गते सम्म लकडाउनलाई लम्ब्याएपछि धादिङका उद्योगी व्यवसायी संघ संस्थाको संयन्त्रले लकडाउनलाई थप प्रभावकारी बनाउन विभिन्न महत्वपूर्ण पाँचवटा निर्णय गरेको छ ।

बैठकले काठमाडौ र तराईका जिल्लाहरुबाट ढुवानी भैरहेका हरियो तरकारी, फलफुल, कुकुराको चल्ला, मासु जन्य पदार्थलाई बन्द गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बाह्य जिल्लाबाट धादिङ प्रवेस गर्ने नाकाहरुलाई कडाई गर्न जिल्ला प्रसाशनलाई आग्रह गर्ने समेत बैठकले निर्णय गरेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले धादिङपोष्टलाई बताए ।

अध्यक्ष खत्रीका अनुसार अत्यावश्यक सेवा बैंक, विमा लगायतका सेवाहरु सामाजिक दुरी र सुरक्षाका उपायहरु अवलम्बन गरि संचालन गर्न समेत आग्रह गरिएको छ ।