कोरोना प्रतिबन्ध र नवमहाराजाहरु

Avatar photo
Dhadingpost
चैत्र २२, २०७६

नदी बग्नु, हावा बहनु, सूर्यको उदयास्त हुनु प्रकृतिको स्वयम्सिद्ध तथ्य हो । हामीलाई हावाको गतिमा उसकै दिशातिर हिड्नु,पानीकै प्रवाहतर्फ यात्रा गर्नु सहज हुन्छ तर जब प्रकृतिको प्रतिरोधमा हामी उत्रन्छौ तव अनेक भयाबहको सामना गर्न बाध्य हुन्छौं ।

अप्राकृतिक भोजन, अप्राकृतिक जीवनशैली तथा अमानवीय गतिविधिले जीवन सुसञ्चालनमा प्रतिरोधी भूमिका निर्वाह गर्छ । आम त्राशदीको शिकार हामी यस्तै यस्तै क्रियाकलापले भोगि रहन्छौं । मानव समुदाय तीन किसिमका कानुनी बन्धनबाट अनुबद्ध हुन्छ ।

पहिलो कानुन प्रकृतिकै हो । जन्मनु, सन्तानोत्पादन गर्नु, भोक लाग्नु, खानु, उत्सर्जन गर्नु निद्रा लाग्नु, ब्युझनु, मर्नु मान्छेका सामान्यतः क्रियाकलाप प्राकृतिक कानुन नै हुन् । जसलाई उसले उल्लङ्घन गर्नै सक्दैन, उलङ्घन गर्छ भने कि रोगको शिकार हुन्छ कि नष्ट भैहाल्छ ।

दोस्रो कानुन उसको आचार संहिता हो । उसको दैनिकी र जीवन शैलीले पनि व्यक्तित्व निर्माण गरिरहेको हुन्छ । सुत्ने, खाने र समय, व्यायाम, पेशा, धनको मोह, प्रयोग, संसर्ग अम्मल, मादक पदार्थ सेवन, शाकाहार, मांसाहार जस्ता क्रियाकलाप उसले आफ्नै आदत निर्माण गरेर सञ्चालन गरिरहेको हुन्छ । त्यसका आधारमा पनि उसको शारीरिक संरचना तयार हुन्छ । रोग लाग्ने नलाग्ने, प्रतिरोधात्मक क्षमता विकास तथा कमजोर हुने अवस्था तयार हुन्छ । यो व्यक्तिको निजी कानुन हो ।

तेस्रो कानुनी राज्य व्यवस्था वा समाज, धर्मले निर्धारित गर्दछ । यसमा बलियो पक्ष राज्यव्यवस्था नै हो । राज्यव्यवस्था सक्षम सबल र प्रभावकारी छ भने त्यो प्राकृतिक कानुन सरह सर्वस्वीकार्य,हुन्छ । व्यवस्थित हुन्छ र त्यसले जीवनपद्दतिलाई निश्चित लयमा फर्काउन सक्षम हुन्छ । त्यो दृढता आफूमा हुने इच्छाशक्ति र सपनाको सकारात्मक अभिप्रेरणाले पैदा गर्दछ ।

हाम्रो जस्तो देशमा सबै राज्य संयन्त्रहरु निश्चित पक्रिया वा पद्धतिबाट चलेका छैनन् । अझ यस्तो मुलुकमा त व्यक्तिका सोच र संकल्पनाकै कारण प्रशासनयन्त्र प्रभावी वा निस्प्रभावी देखिनु स्वभाविक हो । प्रभाविताको आधारमा उसका मूल्य आँकलन पनि गर्ने गरिन्छ ।

नेपालको प्रशासनयन्त्रमा राणाकालमा भएको बडाहाकिमी संयन्त्रलाई लोकतान्त्रीकरण गर्दै जिल्ला प्रशासन तथा प्रहरी प्रशानसँग गाँसेर उक्त शक्तिलाई प्रयोग गरिएको छ । व्यवस्थाको बदलाब भए अनुसार प्रशासन संयन्त्रले आफूलाई अनुकुलन गर्दै लगेपनि शक्तिको दर्प उहिलेकै तेजमा बेलाबेला मुखरित भैरहेको हामीभित्र अनुभूति छँदैछ ।

प्रशासन संयन्त्रहरुमा शक्तिको सञ्चालन आशीर्वादात्मक प्रकृतिको भएकोले कसको कति दौरा मोल्ने क्षमता छ र कसले कति थैलीभेट चढाउन सक्छ उसको मालदार जिल्ला वा विभाग पर्ने हाम्रो परम्पराकै कारण सरकारी आदेशहरु हास्यास्पद बन्दै गएका छन् । दौरा समातेर आएकाहरुको दौरा च्यातिनेवित्तिकै पूर्ववत् हुन्छन् र थैली चढाएर आएकाहरु थैली सुक्नासाथ हलचल गर्न थाल्दछन् । क्षमता र योग्यता नाममात्रका बन्दै आएका छन् ।

प्रसङ्ग लक डाउन अर्थात सरकारी बन्दको हो । हाम्रो समाजमा एउटा थेगो नै बनिसकेको छ । जसले जति काम ठग्न सक्यो उति सरकारी कामको नमुना बन्दछ । कसैले ढिलो आएर उपस्थिति मात्र जनाएको खण्डमा के सरकारी पारा हो ? भन्ने चलन छ । कसैले हा.टा. गरेमा सरकारी जागिरे भन्ने चलन छ । यो हाम्रो लक डाउनमा पनि देखिएको छ ।

सरकारी जागिर खान र पेट पाल्न मात्र आएका प्रहरी प्रशासन जागिर मात्र खाइरहेका छन् । बाटामा दुईजना चढ्ने मोटरबाइकमा तिनजना कुदिरहेका बग्रेल्ती देखिएका छन् । दुध बेच्न आएका घेरा फाटेका टोपीवालहरुले हप्की खाएका छन् तर विना मास्क मर्निङ् वाक वा इभिनिङ् वाकमा निस्किएका महाजन, भलाद्मीहरुले उल्टो सम्मान पाउछन् ।

बरु भलाद्मीहरुका लागि रास्ता खाली गरेको जस्तो देखिन्छ किनकि त्यहाँ चिल्ला गाला भएका, पुक्क भुँडी निस्किएका वा नोटका विटाधारीहरुले ससम्मान प्रतिबन्ध उल्लङ्घन गरिरहेका भेट्न सकिन्छ ।

प्रतिबन्ध सर्वसाधारण चढ्ने गाडीका लागि मात्र हो सायद । रातो प्लेटका निजी सवारीहरु बिनाशोधपुछ गुड्छन् । सेताप्लेटका जनप्रतिनिधि त नवमहाराजहरु न भए तिनका लागि न प्रतिबन्धले छुन सक्छ न कोरोनाले नै । तिनीहरुका गाडीका प्रवेग देख्दा लाग्छ कि यो बन्द सेतोप्लेटका गाडीहरु निर्बाध चलाउनका लागि स्कटिङ् मात्र गरिएको हो ।

हाम्रो समाजमा सनातनदेखि एउटा सार्थक उखान चलिआएको छ कि, सानालाई ऐन ठूलालाई चैन । नेपालको कानुन पशुपतिनाथ नै जानून । हो यिनै उखानहरु जस्तै भएको छ हाम्रो परिदृष्य । राजनैतिक दलका बन्दको प्रभाव खेपिरहेका जनताले आजित भएर त्यसलाई प्रतिवाद गर्दै आएका थिए । अहिले सरकारले जनकल्याणको लागि रोग नफैलियोस् भनेर गरिएको प्रतिबन्धले मलाई छुँदैन भनेजस्तै निस्फिक्री घुमिरहेका छन् । यो प्रतिबन्ध त आम नागरिकहरुका लागि हो भनेजस्तो ।

प्रहरी प्रशासन जो दौराको फेरो समाएर आएको छ, उसलाई दौरावाल नफेरुञ्जेल ढुक्क र उसले कानुन पालन गर्न गराउन आवश्यक नै ठान्दैन । जो पदस्थहरुलाई थैलीभेट गराएर आएको हुन्छ । उसको ध्यान उठाउन र शोधभर्ना गर्नकै लागि केन्द्रित हुन्छ । उसले कानुनी राज चाहँदै चाहँदैन । उसले पनि कानुन पालन गराउने कुरै आउँदैन । दक्षता र कार्यक्षमताले यस ठाउँमा आइपुग्नै दुर्लभ छ अनि कताबाट सरकारी आदेश कार्यान्वयन हुन सक्छ ?

हामीले लकडाउनको समयमा पनि निर्बाध घुमफिर भोज भतेर, जमघट र यात्रामा मान्छेका ओहोर दोहोर भेटिरहेकाछौं । हामीले भेटिने अनुहार भनेकै कानुनले पनि याचना गर्नुपर्ने दलका भिजिलान्तेहरु, कानुन हातमा लिनसक्ने सरकारी छोटे महाराजहरु र तिनका किचेन क्याविनेटका जुठोपुरोका भागिदार दौराकाजीहरु हुन् ।

जसलाई आजसम्म प्रहरी प्रशासनले छुन सकेको छैन । देशमा कोरोनाको खेतीबाट अकुत आर्जन गर्न थालिसकेका श्री ६ महाराजहरु यदि कोरोनाले चिन, इटाली र अमेरिकाको नियति हामीले भोग्नु परेको खण्डमा यहाँको दरवारमा कोरोना भेला गर्न नपरोस्, सबैलाई चेनता भया ।

(लेखकः डा. नवीन बन्धु पहाडी, नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक एवम् भानु प्रतिष्ठान धादिङका अध्यक्ष हुन् ।)