युएईमा नेपाल भ्रमण बर्ष २०२० प्रचारप्रसारको साथमा टोपी दिवस मनाईयो

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १८, २०७६

युएई, पुष १८ । नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्धेश्यले दुबईको जबिल पार्कमा यही जनवरी १ शुक्रबारका दिन नेपाली समाज युएईले शुभकामना आदान प्रदान कार्यक्रम तथा अन्तराष्ट्रिय टोपी दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाली समाज युएईको संयोजनमा युएईमा रहेका ४ दर्जन भन्दा बढी नेपाली संघसंस्थाहरूले संलग्नतामा नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर नेपालमा पर्यटकहरू भित्र्याउने उद्देश्य अनुरुप प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गरिएको नेपाली समाज युएईको प्रवक्ता हरि दुलालले जानकारी दिए ।
नेपाली दुतावास युएईको श्रम काउन्सिलर भेष बहादुर कार्कीको प्रमुख आतिथ्यता कार्यक्रममा नेपाली समाज युएईको अध्यक्ष गोबिन्द प्रसाद ढकालको सभापतित्व रहेको थियो । गैरआवासीय नेपाली संघ युएई, प्रवासी नेपाली संघ युएई, नेपाली जनप्रगतिशील मन्च युएई, नेपाली जनसम्पर्क समिति युएई, अन्तराष्ट्रिय नेपाली समाज युएई, नेपाल पत्रकार महासंघ युएई, जनजाति महासंघ युएई लगायत युएईस्थित विभिन्न संघसंस्थाको विशेष प्रतिनिधित्व गरेको प्रचारप्रसार तथा शुभकामना कार्यक्रमको संचालन समाजका महासचिव वेदप्रसाद अर्यालले गरेका थिए ।

कार्यक्रममा बाेल्दै नेपाली दूतावास यूएईका श्रम काउन्सिलर तथा कार्यक्रमका प्रमुख अतिथी भेष बहादुर कार्कीले भ्रमण बर्ष सफल बनाउने काम नेपाल सरकारकाे मात्र नभएर विश्वभर रहेका आम नेपालीकाे समेत दायित्व रहेकाे बताएका थिए। यूएईमा रहेका एक नेपालीले कम्तिमा २ जना पर्यटक नेपाल भित्र्याउने पहल गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष गाेबिन्द प्रसाद ढकालले विश्वभरबाट यूएई घुम्न आउने पर्यटकहरूलाई नेपाल पनि घुम्नका लागि आग्रह गर्दै नेपालका बारेमा उनीहरूलाई जानकारी दिन प्रचारप्रचारलाई निरन्तर दिनुपर्ने वताउदै नेपाली समाज त्यसका लागि लागिरहने प्रतिबद्वता जनाएका थिए ।
कार्यक्रममा यूएईमा रहेका विभिन्न संस्थाका प्रतिनिधि , गैर आवासीय नेपाली संघ युएई , पर्यटन व्यवसायीहरूले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा नेपाल भ्रमण वर्षकाे लाेगाे अंकित टिसर्ट , नेपाली टाेपी लगायतका प्रचार सामाग्री समेत वितरण गरिएकाे थियाे ।