एड्भान्स एकेडेमीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २४, २०७५

धादिङबेसी फागुन २४ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीमा लैंङ्गिक समानताका लागि समान सोच र ब्यवहारः समृद्धिको आधार भन्ने नाराको साथ जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिता सुरुभएको छ ।

एड्भान्स एकेडेमीले १०९ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको माध्यामिक विद्यालय स्तरीय भलिबल प्रतियोगिताको एक विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले उद्घाटन गरेका थिए ।

जिल्लाका विभिन्न स्थानका १२ माध्यामिक विद्यालयहरुले भाग लिएको उक्त भलिबल प्रतियोगिता उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पण्डेयले खेलकुदको विकासका लागि सबै तह र तप्काले ध्यान दिनु पर्ने बताएका थिए ।

खेलको उद्घाटन नीलकण्ठ मावि र एड्भान्स एकेडेमी बीच अप्रत्योगी टिमहरुकाे मैत्रिपुर्ण छात्रा भलिबल आयोजना गरिएको थियो । मैत्रिपूर्ण खेल एड्भान्स एकेडेमीको छात्रा टिमले जितेको थियो ।

एड्भान्स एकेडेमी कम्पनी संचालक समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) को सभातित्वमा सम्पन्न उक्त प्रतियोगिता उद्घाटन कार्यक्रममा प्याब्सन धादिङका अध्यक्ष एवम् विद्यालय प्रिन्सिपल गोविन्द बुढाथोकीले नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु ब्राेइलर हुन्, खाली अंग्रेजीमा सुगा रटान गर्छन् भन्ने आरोप छ, यस प्रतियोगितामा ७ सरकारी विद्यालय र ५ नीजि विद्यालयहरु सहभागि छन् । यसले पनि नीजि विद्यालयहरु खेलकुद देखि अन्य अतिरिक्त क्रियाकलापमा अब्बल रहेको बताएका थिए ।

तीन दिन सम्म चल्ने यस प्रतियोगिताको पहिलो दिन पाँच वटा खेलहरुमा मुक्रापदेवि माध्यमिक विद्यालय रुबीभ्याली गाउँपालिका ४ लापाले पशुपति माध्यामिक विद्यालय नीलकण्ठ नपा साँङ्कोस र आयोजक एड्भान्स एकेडेमी बी लाई हराउँदै सेमी फाइनल प्रवेश गरेको छ ।

यस्तै आजै भएको खेलमा द राइजिङ भिलेज मावि गल्छी बैरेनीले धादिङबेसी स्थित चिल्ड्रेनपार्क माविलाई हरायो भने धादिङबेसीकै नीलकण्ठ उच्च माविले कालिका मावि धुषालाई हराएको थियो । एड्भान्स एकेडेमीे ए ले धादिङबेसी स्थित न्यू किवो बोर्डिङलाई हरायो ।

बाँकी खेलहरु शनिबार बिहान ७:०० बजेबाट सुरु हुने र फाईनल खेल सँगै समापन हुने आयोजक विद्यालयका एसाेसिएट प्रिन्सिपल भिम श्रेष्ठले धादिङपोष्टलाई बताए ।