धादिङ बोर्डिङका विद्यार्थीहरुद्धारा आमाको माया छात्राबासलाई सहयोग

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १७, २०७५

धादिङ, फागुन १७ । धादिङबेसी स्थित धादिङ बोर्डिङका कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुले आज आमाको माया छात्राबास भ्रमण तथा सहयोग कार्यक्रम गरेका छन् ।

विद्यार्थीहरुको प्रयोगात्मक परीक्षा सँगै सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको धादिङवेसी नजिकै रहेको आमाको माया छात्राबासमा करिब २५ जना असहाय र गरिब बालबालिकाहरु सहयोग गरेका हुन् ।

जनजाति कल्याण आश्रम नेपालद्धारा सञ्चालित उक्त छात्राबासमा भूकम्प र अन्य विभिन्न कारणले आफ्नो आफन्तहरु गुमाएका गरिब, जेहेन्दार छात्रहरु रहेका छन् ।

धादिङ, नुवाकोट, चितवन, दोलखा लगायतका जिल्लाहरुमा उक्त संस्थाले छात्राबास सञ्चालन गरिरहेको छ ।

स्थानीय समाजसेवी तथा सहयोगी हातहरुबाट हुने सहयोगमा सञ्चालित छात्रबासका छात्रहरु नजिकैका विभिन्न विद्यालयहरुमा अध्ययन गर्दै आएका छन् ।

कार्यक्रममा विद्यार्थीहरुले छात्रबासका छात्रहरुलाई शैक्षिक सामग्री, खेलकुदका सामग्रीहरु सहयोग गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक सञ्जय देवकोटा, अनिता श्रेष्ठ, रञ्जना रिजाल, आनन्दी तामाङ लगायत ५० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।