धादिङ पर्यटन तथा औद्योगिक मेला सुरु, पूर्व राष्ट्रतिद्वारा उद्घाटन (फोटो फिचर)

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन १७, २०७५

धादिङबेसी फागुन १७ । पर्यटकको स्वागत सत्कार हाम्रो शान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, भन्ने मुल नाराको साथ धादिङबेसीमा पर्यटन तथा औद्योगिक मेला सुरुभएको छ ।

नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले शुक्रबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरे सँगै धादिङ पर्यटन तथा औद्योगिक मेला सुरुभएकोे हो । मेला फागुन २६ गते सम्म चल्ने छ ।

पूर्व राष्ट्रपति यादव मेला उद्घाटन गर्दै नेपालको समृद्धि हुने गरि संविधान बनेको भन्दै कार्यान्वयनका लागि जनप्रतिनीधिहरु जिम्मेवार बन्नु पर्ने बताए ।

राजधानी सँगै जोडिएको धादिङ अझै बत्तीमुनिको अध्यारो जस्तो रहेको छ, विकासमा राजनीति हैन एकतावद्ध रहन दलका नेताहरुलाई आग्रह गरेका पूर्व राष्ट्रपति यादवले धार्मिक स्थलको संरक्षण, गणेश हिमाल पदमार्ग, बुढीगण्डकी जलविद्युत आयोजना धादिङको मुख्य विकासको आधार भएको समेत बताएका थिए ।

कार्यक्रममा पूर्व मन्त्री दिलमान पाख्रिन, कल्पना धमला, जनप्रतिनीधिहरु खेम लोहनी, भिमप्रसाद ढुङ्गाना, नेताहरु रमेश धमला, रामनाथ अधिकारी, रामबहादुर भण्डारी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

मेला आयोजक जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम अघि धादिङबेसी पुछारबाट विभिन्न जातजाति भाषाभाषी कला संस्कृति झल्कीने झाँकी सहितको र्याली प्रदर्शन गरिएको थियो । धादिङपोष्टका लागि फोटोः नारायण सिलवाल