सञ्जय देवकोटा
धादिङ फागुन १ । धादिङ आवासीय माध्यमिक विद्यालयमा आजबाट विद्यालय आयुर्वेद तथा योग शिक्षा सुरु भएको छ ।
नीलकण्ठ नगरपालिका धादिङ र जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङको सहकार्यमा आयोजनामा सञ्चालित कार्यक्रमको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र धादिङका प्रमुख डा. राधेश्याम शिल्पकारको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीको प्रमुख आतिथ्यता तथा धादिङ आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि लम्सालको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले योग शिक्षाले समाजमा देखिएका नयाँ नयाँ रोगको निवारण गर्न र स्थानीय स्तरमा रहेका तर पहिचान हुन नसकेका जडीबुटीहरुको उपयोग गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै नीलकण्ठ नगरपालिका भित्रका सबै विद्यालयहरुमा योग शिक्षा सञ्चालन गर्ने लक्ष्यका साथ नगरपालिका अगाडि बढेको पनि जानकारी गराएका थिए ।
विद्यालयका प्रधानाध्यापक हरि लम्सालले विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासमा योग शिक्षाले भूमिका खेल्ने बताउँदै विद्यार्थीहरुलाई आत्म विश्वास बढाउनको लागि पनि योग शिक्षा अत्यन्तै उपयोगी हुने बताएका थिए ।
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शिल्पकारले मौलिक उपचार पद्धति आर्यवेद भएकाले स्थानीय स्तरमै प्राप्त जडीबुटीहरुको प्रयोग गरी विभिन्न किसिमका रोगहरुको रोकथाम गर्न सहयोग पु¥याउने आर्युवेद चिकित्सा पद्धतिको प्रचार प्रसार हुन नसकेकाले पनि यस्ता खाले कार्यक्रमको आयोजनाले प्रचार प्रसारमा महत्त्वपूर्ण टेवा पु¥याउने बताउदै आर्युवेदको प्रचार प्रसार गर्ने, दैनिक जीवन यापनलाई सहज बनाउने कला सिकाउने, स्थानीय रुपमा उपलब्ध जडीवुटीहरुको पहिचान र प्रयोगको बारेमा जानकारी गराउने र योग शिक्षाको बारेमा विशेष प्रयोगात्मक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताका थिए ।
२५ जना विद्यार्थीहरुलाई दिनको २ घण्टाको दरले १४ दिनको विशेष कक्षा सञ्चालन गरी प्रशिक्षित गरिने छ । नेपालमा ३ सय ११ वटा स्थानीय तहमा मात्र सरकारी स्तरको आर्युवेद कार्यालय छ भने धादिङ जिल्लामा जम्मा ५ वटा सरकारी स्तरका आर्युवेद कार्यालयहरु रहेका छन् ।