आगो लागी हुँदा ३० घर नष्ट

Avatar photo
Dhadingpost
मंसिर ९, २०७५

गलकोट, मङ्सिर ९ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान आगो लागी हुदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।

शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो ।

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ ।

“ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भन्नुभयो, “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।” नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताउनुभयो ।