निर्मलाका बुबा यज्ञराजलाई उपचारका लागि काठमाडौं पुर्‍याइँदै

Avatar photo
Dhadingpost
मंसिर ९, २०७५

काठमाडौँ, मंसिर ९ । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा यज्ञराजलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
श्रीमती दुर्गादेवी तथा आफन्तहरू ईश्वर जोशी र गजाधर भट्टसँगै तीन सुरक्षाकर्मी र एक स्वास्थ्यकर्मीलाई पनि साथै पठाइएको छ ।

शनिबार बेलुकी धनगढीबाट विमानमा ल्याउने प्रयास असम्भव भएपछि उनलाई बेहोस हुने सुई लगाएर राति गाडीमा पठाइएको छ ।

आफन्तको आग्रहमा सेती अञ्चल अस्पतालमा बेहोस बनाएर काठमाडौं पठाइएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले बताए । ‘मुस्किलले स्कारपियोमा राखेर सेती अञ्चल अस्पताल पुर्‍यायौं । आफन्तको आग्रहमा बोहोस पारेपछि राति सवा १० बजेतिर काठमाडौं पठायौं,’ भट्टले भने ।

सुरुमा बुद्ध एअरको विमानबाट काठमाडौं पठाउने तयारीअनुसार महेन्द्रनगरबाट दिउँसै धनगढी ल्याइएको थियो । तर, विमानस्थलभित्रै असामान्य व्यवहार देखाएपछि विमानका कर्मचारीले लैजान अस्वीकार गरेका थिए ।

बुद्ध एअर धनगढीका प्रमुख बुधराम माझीले विमानस्थलमा मनलागी बोल्ने, हिँड्ने र यात्रुलाई हिर्काउन खोज्नेजस्ता व्यवहार देखाएपछि सुरक्षाका कारण लान नसकिएको बताए ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले यज्ञराजलाई उपचारका लागि जाने व्यवस्था मिलाए पनि असामान्य व्यवहार देखाएपछि विमान कम्पनीले लैजान नमानेको जानकारी दिए ।

२५ कात्तिकदेखि अनिश्चितकालीन धर्नामा बसेका यज्ञराज तीन–चार दिनयता मानसिक रूपमै अनियन्त्रित भएका छन् । बर्बराउने, अचानक हाँस्ने र छिनमै रुने, अपशब्द प्रयोग गरी अरूलाई गाली गर्नेजस्ता समस्या यज्ञराजमा देखिएका छन् ।

‘एकजनाका कारण विमानका सबै यात्रुलाई जोखिम हुने देखेपछि लग्न नसकिएको हो,’ माझीले भने, ‘लाने भए केही समय बेहोस् गर्न भनेका थियौँ ।’ निर्मलाका बुबाआमालाई बुद्ध एअरले यसअघि दुईपटक निःशुल्क लगेको उनले बताए ।

यज्ञराजलाई विष खुवाएर मार्न खोजेको आरोप

निर्मलाको न्यायका लागि सुरुवातदेखि संघर्षरत अधिकारकर्मी लक्ष्मी मल्लले निर्मलाका बुबा यज्ञराजको खल्तीमा मुसा मार्ने विष भेटेको बताएकी छिन् । केही दिनअघि यज्ञराजले नै देखाएपछि खोसेर जलाइदिएको उनले बताइन् ।

अर्की अधिकारकर्मी माया नेगीले यज्ञराजलाई मार्ने षड्यन्त्र भएको आरोप लगाएकी छिन् । ‘दिनरात धर्नामा बसेका यज्ञराजको गोजीमा कहाँबाट विष आयो ?

कसले बजारबाट किनिदियो ? किन धर्नास्थलमा ल्याइयो ? नेगीले प्रश्न गर्दै भनिन्, ‘यो अनुसन्धान गर्नुपर्ने विषय हो ।’

निर्मलाकी आमा दुर्गाले पनि श्रीमान् यज्ञराजको खल्तीमा विष भेटेको सुनाएको दबाबमूलक संघर्ष समितिका पदाधिकारीले बताएका छन्   ।