धादिङ, कार्तिक २५ । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका –५, विशालटार नजिकै आइतबार बिहान ग्यास बुलेट पल्टिदाँ दुई जनाको मृत्यु भएको छ ।
भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको हो ।
मृत्यु हुनेमा बेनिघाट रोराङ –५ का ३५ वर्षीय गीता नेपाली र उनका छोरी २१ वर्षीय सुनिता नेपाली रहेका छन् । दुर्घटनामा घाईते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । गीताको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग अस्पताल मलेखुमा रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बिकले जानकारी दिए।
गीता बेनिघाट रोराङ –५ का वडा सदस्य समेत हुन् । चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिडिरहेका उनीहरुको ग्यास बुलेट पल्टिदाँ मृत्यु भएको हो । ग्यास बुलेटका चालक भारत बस्ने २६ वर्षका भोला कुमार बेनिघाट प्रहरीको नियन्त्रणमा रहेको छ ।
