रवि लामिछाने माथी प्रेस काउन्सिलमा उजुरी

Avatar photo
Dhadingpost
असार ६, २०७५

काठमाडौँ, असार ६ । छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पुऱ्याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ ।

कुमुद लोहनी र लक्ष्मण विकको नाममा प्रेस काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर–कार्यालयमा बलजफ्ती घुस्ने गरेको र उनी विदेशी नागरिक भए पनि वर्कपरमिट नलिईकन नेपालमा अवैध रूपले काम गरिरहेको आरोप लगाउँदै उनलाई कानुनीबमोजिम कारबाही गर्न माग गरिएको छ । उजुरी परेपछि प्रेस काउन्सिलले छानबिन तथा कारबाहीको आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्मको छानबिन तथा अनुसन्धानबाट रवि लामेछानेले तीनवटा कानुन उल्लङ्घन गरेको दाबी प्रेस काउन्सिलको छ ।

‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामछिाने कानुनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो ।

काउन्सिलको एक सूत्रले जनाएअनुसार लामिछाने विदेशी (अमेरिका) नागरिक हुन् र उनले नेपालमा कुनै पनि काम गर्न ‘वर्कपरमिट’ लिनुपर्नेमा अहिलेसम्म लिएका छैनन् । दोस्रो, उनले प्रेसपास लिएका छैनन् र तेस्रो, लामिछानेले प्राप्त गरेको ‘नाता भिसा’ लिएर नेपालमा कुनै पनि काम गर्न पाइँदैन ।

काउन्सिलका पदाधिकारीमाथि आक्रोश प्रकट गर्दै लामिछानेले पत्रमा लेखेका छन्, ‘मानिसलाई ब्ल्याकमेलिङ गरेर आत्महत्यासमेत गर्नुपर्ने स्थितिमा पु¥याएको मानिस पत्रकारिताको नाममा लुट्ने ढोंगी हो भन्ने कुरामा मृत्युपर्यन्त विश्वास गर्छु र ढोंगीहरूले पठाएको पत्रलाई आगामी दिनमा प्राथमिकता दिन्नँ । मेरो अमेरिकी पासपोर्ट फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको र चार वर्षदेखि नियमित रूपले नेपाल बस्ने गर्दै आएको व्यहोरा अवगत गराउन चाहन्छु । उनान्सय प्रतिशत जनताले स्यावासी दिएको टेलिभिजन कार्यक्रम नेपालको इतिहासमा बनेकै छैन । ज्यानको बाजी लगाएर अहोरात्र खटेर लाखौँ जनताबाट पाएको स्यावासीमा मैले गर्व गर्न पाउनुपर्छ । अहिलेको अवस्थामा प्रेस पास लिनभन्दा म यो पेसा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न तयार छु ।’

उजुरीमाथि छानबिनका क्रममा रवि लामछिानेले प्रेस काउन्सिललाई दिएको जवाफले काउन्सिल र सिङ्गै सञ्चार मन्त्रालयलाई स्तब्ध र आश्चर्यचकित बनाएको छ । लामिछानेले काउन्सिललाई लेखेको पत्रमा उनले भनेका छन्, ‘म विदेशी नागरिक होइन । नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिसा लिएको छु । अर्को कुरा म पत्रकार होइन, भइसकेको छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकहरूले मात्र होइन धेरै पत्रकारले समेत प्रेसपास लिएका छैनन् ।’

सो पत्रमा ‘न्युज ट्वान्टी फोर टेलिभिजनले मिति २०७४ असार १ गते आर्थिक वर्ष २०७४÷०७५ का लागि दरबन्दी र श्रमिजीवी पत्रकारको नाम थर रवि लामिछाने, पद वरिष्ठ कार्यक्रम संयोजक तथा वरिष्ठ प्रस्तोता, नियुक्तिको किसिम स्थायी’ उल्लेख भइआएको व्यहोरा अनुरोध छ भनी शाखा अधिकृत रूपा विकले दस्तखत गरेकी छिन् । यस पत्रबाट रवि लामिछाने न्युज ट्वान्टी फोर टेलिभिजनका स्थायी सञ्चारकर्मी भएको स्पष्ट गर्दछ । विदेशी नागरिकता भएका व्यक्तिले यसरी वर्क परमिट नलिईकन काम गरेको पुष्टि भएमा आगामी भदौ १ गतेदेखि लागू हुने ‘वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरसम्बन्धी कानुन’अनुसार रविलाई कारबाही हुने सम्भावना छ । अनुमतिबिना कसैको तस्बिर खिच्न र अरूको आवासमा अनुमतिबिना प्रवेश गर्न नहुने व्यवस्था उक्त कानुनले गरेको छ । यसमा व्यक्तिलाई तीन वर्ष कैद र तीस हजार जरिवानामध्ये कुनै एउटा या दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

के अब रवि लामिछानेलाई तीन वर्ष कैद र तीस हजार जरिवाना तिराउने सजाय हुन सक्ला त, जिज्ञाशाको विषय बनेको छ । यस्तो स्थिति उत्पन्न भएमा घटना दुःखदायी मानिनेछ । कानुनी प्रावधानअनुरूप अघि बढ्न लामिछानेले तत्परता लिएको अवस्थामा भने सम्भावित दुर्घटना टर्ने विश्वास गर्न सकिन्छ ।