काठमाडौं, असार ६ । चौतर्फी आलोचनाका कारण कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम यो वर्ष पूर्णरुपमा लागू नहुने भएको छ ।
नयाँ पाठ्यक्रमले कक्षा ११ र १२ का करिब पाँच लाख विद्यार्थीहरुलाई ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने विश्लेषकहरुको तर्क छ ।
नयाँ पाठ्यक्रममा गणित र विज्ञान विषय अनिवार्य नबनाइए पछि चौतर्फि आलोचना हुँदै आएको थियो ।
चौतर्फी आलोचनाका कारण राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषदले यस वर्ष पूर्णरुपमा नयाँ पाठ्यक्रम लागू नगर्ने निर्णय गरेको हो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले नयाँ पाठ्यक्रम लागू गर्नुअघि परीक्षण गर्ने परम्परा रहेकाले सोहीअनुसार अगाडि बढ्ने बताउनु भयो ।
उक्त पाठ्यक्रम यस वर्ष केही विद्यालयमा परीक्षण गरेर मात्र अर्को वर्षदेखि लागू गर्ने तयारी भएको परिषदका आमन्त्रित सदस्य एवम् राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि गौतमले जानकारी दिनुभयो ।
नयाँ पाठ्यक्रममा गणित र विज्ञानलाई एउटै समूहमा राखेर कुनै एउटा रोज्ने व्यवस्था रहेका कारण दुवै विषय पढ्न चाहाने विद्यार्थीले एउटामात्र विषय पढ्नु पर्ने बाध्यता रहेको थियो ।
नयाँ पाठ्यक्रमको आलोचकहरुले गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यो विषयलाई पाठ्यक्रमबाट हटाइँदा अन्य विषयहरुलाई पनि असर पर्ने तर्क गरेका थिए ।
