घुस लिने इञ्जिनियर र प्राविधिक बर्खास्त

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७५

म्याग्दी, जेठ ३१ । सेवाग्राहीबाट घुस लिएको उजुरीको आधारमा छानबिनमा परेका इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेती बर्खास्त भएको छ ।

धौलागिरि गाउँपालिका–३, दरको सूर्यज्योति आधारभूत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाले जेठ ७ गते खनाल र उप्रेतीले घुस खाएको उजुरी दर्ता गरेका थिए ।

आव २०७२र७३ मा शुरु भएको रु १९ लाख ५० हजार विनियोजित तीनकोठे भवनको नापजाँचका क्रममा २०७४ असोजमा रु २० हजार घुस लिएको उजुरीमा उल्लेख छ ।

यसैगरी, २०७४र७५ मा रु ३१ लाख ५० हजार बजेटको तीनकोठे ट्रस भवन योजना पारिदिने भनेर रु दुई लाख ५० हजार माग गरेका खनालले प्राविधिक उप्रेतीमार्फत पहिलो किस्ता पेश्की निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी रु ५० हजार लिएको आरोप लागेको छ ।

पुरानो योजनाको फरफारकका क्रममा थप रु ६३ हजार माग गरेका थिए । उनीहरुले मागेअनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भएपनि पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको उजुरीमा उल्लेख छ ।

कक्षा कोठा भवन योजना छनोट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाइ बाध्य बनाएर घुस लिएको आरोपमा इञ्जिनियर श्रीकृष्ण खनाल र प्राविधिक प्रमोद उप्रेतीविरुद्ध उजुरी परेपछि बर्खास्तीमा परेका हुन् ।

उनीहरुको करार सेवाको सम्झौता रद्द गरेर छानबिनका लागि प्रशासन कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखरामा फाइल पठाइएको एकाइका प्रमुख रामकुमार श्रेष्ठले बताए ।

शिक्षामा परेको उजुरी र आरोपित कर्मचारीले पेश गरेको स्पष्टीकरणसहित थप छानबिनका लागि अख्तियारमा पठाइएको प्रजिअ लिलाधर अधिकारीले बताउनुभयो । आरोपित इञ्जिनियर र प्राविधिकले भवन निर्माण समितिले सम्झौता र नक्साअनुसारको काम नगरेको पाइएपछि पुनः नक्सा बनाउँदा परामर्शदाता कम्पनीलाई भुक्तानी दिने क्रममा घुस खाएको आरोप लगाइएको दाबी गर्दै आएका छन् ।