जिल्लाकै नमुना योग्य कृषि फर्म सुकौरामा बनाउँछौं

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २६, २०७५

(धादिङ त्रिपुरासुन्दरी वडा नं. ५ चिसोपानीमा वि.सं. २०२७ असार २३ गते जन्मेका विष्णु सापकोटा राजनैतिक जीवन व्यवहार भएको बताउने एक राजनैतिक कर्मी हुन् । नयाँ शक्ति नेपाल धादिङ क्षेत्र नं. २ को प्रदेश नं. ख बाट उम्मेदवारी समेत दिएका सापकोटाले नयाँ शक्तिका अन्य उम्मेदवारहरुले भन्दा धेरै भोट ल्याउन सफल भएका थिए । नेपालको आर्थिक समृद्धि कृषि र पर्यटनबाट सम्भव छ भन्ने उनले तीन करोड लगानीमा कृषि फर्म खोल्ने अन्तिम तयारीमा समेत छन् । उनै सापकोटासँग संचारकर्मी सरस्वती खाँण ठकुरीले गर्नुभएको कुराकानी ।)

तपाईको राजनैतिक यात्रा ?
राजनैतिक रुपमा मैले वि.सं. २०३६ सालमा श्री अचने मा.वि मा नेविसंघ र अखिलको प्रतिस्पर्धामा निर्वाचन भयो त्यसमा मैले नेविसंघलाई समर्थन गरे सँगै मेरो राजनितिक यात्रा सुरु भएको हो ।

राजनैतिक यात्रामा काँग्रेस, माओवादी हुदै नयाँ शक्ति तिर पुग्नु भए छ हैन ?
वि.सं.२०४६ सालमा भएको जन आन्दोलनमा म आफैं सहभागी भएर राजनैतिक यात्रामा नै रहेँ । त्यसपछि २०६२/२०६३ सालमा भएको आन्दोलनमा म काठमाडौंमा थिए ।

जनयुद्धको उपलब्धी तथा माओवादीको क्रान्तिकारी योजनाबाट प्रभावित हुँदै मैले २०६२ भदौ ५ गते मेरो राजनैतिक विचारधारालाई परिवर्तन गर्दै तात्कालिन माओवादीमा समाहित भए । समयक्रमसँगै माओवादी पार्टीको दर्शन र व्यवहार पटक्कै मेल खान सकेन, समाज विकासका सबै नारा खोक्रो सावित हुने स्थिति आएसँगै म केहि समय निस्किृय रहेको पक्कै हो ।

यस बीचमा डा.बाबुराम भट्टराईसँग पटक पटक भेटभयो मैले नराम्रा गतिविधिहरुको आलोचना गरिरहेँ मलाई अब तपाईले भने जस्तै पार्टी बन्छ भनेर आश्वासन दिने गर्नुहुन्थ्यो । पछि उहाँ कै नेतृत्वमा गठन भएको नयाँ शक्ति पार्टीमा २०७२ साल मंसिर ६ गतेदेखि नै आवद्ध भएको हुँ ।

नयाँ शक्तिको इज्जत त राख्नु भो हगि, यति भोट आउँछ भन्ने आँकलन गर्नुभएको थियो ?
मैले धादिङको क्षेत्र न.२ को ख बाट प्रदेश सभाको प्रत्यक्ष उमेदवार हुने जुन अवसर पाएँ र मतदाताले जति भोट दिए म सम्मान गर्दछु ।

तपाई राजनिति भन्दा बढी कृषिका कुरा गर्नु हुन्छ किन ?
नेपालमा ७० प्रतिशत जनता कृषिमा आधारित छन । नेपालमा जीवन निर्वाहमुखी कृषि प्रणलीले गर्दा हामी पछाडी परिरहेका छौ । नयाँ शक्ति एउटा विचार हो त्यो विचारलाई कार्यान्वयनमा लैजादा कृषि, पर्यटन, जडिबुटी सँगैसँगै शिक्षा र स्वास्थ्य पनि जोडिएर आउने गर्दछन् । हामी भाषण भन्दा व्यवहारद्वारा प्रष्ट पार्न चाहन्छौ सायद त्यहि भएको हुनुपर्छ ।

तपाईलाई त नयाँ शक्ति धादिङका नेताहरु नै नयाँ शक्तिबाट भाग्दै छ भन्छन् ?
नयाँ शक्ति पार्टी भित्र पनि सबैले बुझिसकेको छ भन्ने होइन । नयाँ शक्ति विभिन्न विचारधाराबाट प्रभावित व्यक्तिहरुको जमघट हो । नयाँ शक्तिमा प्रवेशसँगै सबै व्यक्ति टल्कन्छ भन्ने पनि होइन । यो समाज विकासको सिद्धान्तमा आधारित पनि छ ।

साथीहरुले एकदिन बुझ्छन् बिष्णु सापकोटा पदको घमण्ड गर्दैन तर जे नारा र योजना बनाइन्छ त्यो कार्यान्वयन गर्नुपर्छ भन्ने पात्र हो । त्यसैले मेरा केही सिमा कमजोरी छैन भन्दिन तर ती साथीहरुलाई भन्न चाहान्छु नयाँ शक्ति बनेर विष्णु सापकोटाले गरेका जति काम गरेर समाजमा देखाउ । यो देशमा नयाँ शक्ति पार्टीको विकल्प छैन, शुशासन र सदाचारमा म दृढ सङकल्पित छु ।

बाख्रा, आलु, उखु बाड्दैमा नयाँ शक्ति बनेन त ?
“एक घर एक कागती” भन्दै मैले धादिङमा ७ हजार कागतीको विरुवा वितरण गरेको छु । उखु र उन्नत जातका मकै, आलुको बिऊ वितरण गरेको छु । मैले आलु लगाउनको लागि सबै किसानलाई केही समयको लागि उधारो दिए, ७ हजार किलो आलु लगेको ठाउँमा ८० हजार आलु उत्पादन भयो ।

आलु र सिंचाइका साथ उन्नत जातका मकै, धानका विउ वितरण गरेको छु । चाइनिज धान जहाँ एक टन फल्ने ठाउँमा ४ टन धान फल्यो यस्तै बोयर जातिको बोकाले नस्ल सुधारमा टेवा पु¥याईरहेको छ । हामीले समाज परिवर्तन गर्न धेरै ठुला ठुला गफ छाँटेका देखेका छौं समाज विकास त खासमा यस्तै साना कुराबाट हुने हो नि ।

नयाँ शक्तिको जाँगर जनतामा महसुस हुँदैछ । दुर्गन्ध हाम्रो नाकले पहिला थाहा पाए जस्तै नयाँ शक्ति चुनावी नतिजाले कमजोर बनायो होला यो अन्तिम निर्वाचन होईन अन्य दलहरुको हैसियत पनि हरेक चुनावले अपडाउन गरि रहेको छ । हामी चुनावी नतिजालाई आत्मसाथ गर्दै जनताको जीवन व्यवहारको पार्टी नयाँ शक्ति नै भएको आभास दिलाउने गरि अगाडि बढ्ने छौ ।

३ करोड लगानीमा बन्ने नमूना कृषि फर्म कस्तो हुन्छ ?
हो, मेरो विशेष पहलमा बिभिन्न राजनिति बिचार भएका समाजका लागि केहि गरौं भन्ने चिन्तकहरुको एक समुहले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा धादिङ कै नमुना योग्य कृषि तथा पशुपालन फार्म संचालनको अन्तिम तयारीमा छौं। यसको लगानी सूरुमा १ करोड अनि २ करोड हुँदै ३ करोड हुन्छ ।

यो फर्म हामी केहि व्यक्ति मिलेर संचालन गर्न लागेका हौं । हामी सबै विचार मिल्ने समाजमा केहि गरौ भन्ने व्यवसायीहरुको लगानीमा यो कृषि फर्म संचालनमा आउन लागेको हो फर्म संचालनमा आए सँगै हामी समाजका हरेक किसानका कृषि उत्पादन खरिद गर्ने, आधुनिक कृषि उत्पादनका लागि सबै तालिम विऊ विजनहरु वितरण गर्नेछौ हरेक घर १ व्यवसायी बन्ने छन् । हरेक व्यवसायीले घर मै बसेर मासिक ५० हजार आम्दानी गर्ने अवसरको सृजना गर्ने र विदेशमा श्रम गरिरहेका स्थानीय दाजुभाईहरुलाई घरआई व्यवसाय गर्न प्रेरित गर्ने हाम्रो मुख्य उद्धेश्य रहने छ ।

वोयर जातिको एउटा बोकाको ३६ लाख सम्म पर्छ, अफ्रिका जातिको बोका हो यो ५ लाख देखि ३६ लाख सम्म पर्छ । हामीले २ ओटा बोका ल्याई बिडिङ सुरु गरिसकेका छौ । मुख्यः कुरा हाम्रो यो फर्मले कृषिमा आधुनिकिकरण गर्ने छ र स्वरोजगारको वातावरण आफ्नै गाउँमा बनाउने छ भन्ने कुरामा हामी विश्वस्त छौ ।