उमरले आफूभन्दा २५ वर्ष जेठी महिलासँग विवाह

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २०, २०७५

एजेन्सी । अलकायदाका प्रमुख ओसामा बिन लादेनको मृत्यु भएको सात वर्ष भइसक्यो । उनको मृत्युपछि उनको ठूलो परिवार संसारको विभिन्न हिस्सामा बाँडिएको छ ।

ओसामाको पूरा परिवारबारे धेरै जानकारी नभएपनि उनका छोरा उमर बिन लादेनबारे विभिन्न खबर आइरहन्छन् । उमरले आफूभन्दा २५ वर्ष जेठी महिलासँग विवाह गरेको बताइन्छ । उनकी श्रीमती ओसामाभन्दा एक वर्ष जेठी थिइन् ।

यसरी भयो भेटघाट र विवाहः

उमरको विवाहको खबर सन् २००७ मा ब्रिटिश मिडियामार्फत सार्वजनिक भएको थियो । त्यतिबेला अमरको उमेर २७ वर्षको थियो भने उनकी श्रीमती जेनको उमेर ५१ वर्ष थियो ।

उमरकी श्रीमती जीनाले सन् २००७ को अप्रिलमा इस्लामी विधि अपनाएर दुबैको विवाह भएको र आफूहरु निकै खुसी भएको बताएकी थिइन् ।

विवाह पछि जेनले इस्लाम धर्म अपनाएकी थिइन् र आफ्नो नाम परिवर्तन गरेर जीना महमूद राखेकी थिइन् ।

विवाह पछि जेनले भनेकी थिइन्, ‘म उमरलाई यति माया गर्छु कि बिन लादेन परिवारसँग सम्बन्ध जोडेपछि हुने नतिजालाई पनि बेवास्ता गरेकी छु ।’

बस्नु पर्यो अलगः

विवाहपछि उमर र जेन अलग बसिरहेका थिए । जेन ब्रिटेनको चेशायरमा बसिरहेकी थिइन् भने उमर कतारमा ।

जेनले उमरका लागि ब्रिटेनको भिसा लिन निकै कोसिस गरिन् तर पारिवारिक पृष्ठभूमिका कारण उनले भिसा पाउन सकेनन् ।

यसरी आयो सम्बन्धमा दरार

दुबैले सन् २०१० मा सरोगेसीमार्फत बच्चा जन्माउने योजना पनि बनाएका थिए तर एक पछि अर्को गरी चारपटक आइभीएफ उपचार फेल भएको थियो ।

यसैबीच जेनले उमरसँग सम्बन्धविच्छेदको माग गरेको खबर पनि मिडियामा छाएको थियो । जेनले उमरको मानसिक स्थिती ठिक नभएकाले आफूहरु सँगै बस्न नपाउने बताएकी थिइन् ।

तर उक्त खबर आएको केही समयपछि कतारको गल्फ न्यूजले दुबैको सम्बन्धविच्छेदको खबर पुष्टि गर्यो । दुबैबीच सरोगेट बच्चाबारे विवाद पैदा भएपछि विवाह टुटेको बताइयो ।