काठमाडौं पौष ६ । एकल संक्रमणीय मतप्रणाली बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग हुने विधि हो । जसमा केही मुलुकको विधायिकी निर्वाचनमा मात्र यसको प्रयोग हुँदै आएको छ । यस प्रकारको निर्वाचन प्रणालीमा मतदाताले उम्मेदवारहरूलाई प्राथमिकताक्रमका आधारमा मतदान गर्छन् । मतदाताले एक वा एकभन्दा बढी उम्मेदवारलाई मतदान गर्न पाउँछन् । तर, एकभन्दा बढी उम्मेदवारलाई मतदान गर्दा समान प्राथमिकता नदिई प्राथमिकताक्रम तोकेको हुनुपर्छ ।
समानुपातिक पद्धतिका सबैखाले फाइदा यस पद्धतिमा पनि पाउन सकिन्छ । जस्तोः समावेशीकरण खेर जाने मतको न्यूनता, साना दलहरूको समेत समानुपातिक सहभागिता आदि । सानो एकाइमा मात्र यस निर्वाचन पद्धतिको अवलम्बन सान्दर्र्भिक हुने भएकाले समानुपातिक भइकन पनि उम्मेदवार मतदाताबीच सम्बन्ध कायमै रहन्छ । यसले मत सट्टापट्टा गर्न पनि छुट दिने भएकाले दलीय गठबन्धनलाई निर्वाचित हुनका लागि निश्चित मत कोटा पार गर्नुपर्छ । यसका लागि मतदाताले उम्मेदवारहरूको प्राथमिकताक्रम निर्धारण गरेपश्चात जुन उम्मेदवारले प्राथमिक मतसहित निश्चित कोटा पार गर्छ, र तत्काल निर्वाचित भएको घोषणा गरिन्छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
यसरी घोषणा गर्दा निर्वाचित उम्मेदवारलाई प्राप्त आवश्यक कोटाभन्दा बढी मत नियमानुसार दोस्रो प्राथमिकता क्रमका उम्मेदवारलाई वितरण गरिन्छ र यसरी मत वितरण गर्दा सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई क्रमशः हटाउँदै लगिन्छ । यो क्रम निर्वाचित गर्नुपर्ने स्थान पूरा नभएसम्म कामय रहन्छ । यसमा मतगणनाका लागि ‘ड्रप कोटा’ अपनाइन्छ ।