भरतपुरमा शुक्रबार पुनः मतदान हुने

Avatar photo
Dhadingpost
बुधबार, साउन १८, २०७४

भरतपुर साउन १८ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ । निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सर्वदलीय बैठक राखेर पुनः निर्वाचनको मिति तोकेको हो । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउनेछैनन् ।

शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । सहायक निर्वाचन अधिकृत घिमिरेका अनुसार शनिबार रातीबाटै मतगणना सुरु हुनेछ । ‘२० गते चुनाव भएपछि सबै मतपेटिका तत्काल संकलन गरेर त्यसैदिन रातिबाट मतगणना हुन्छ,’ उनले भने, ‘वडा नम्बर १९ को गणना सकेपछि २० नम्बरको गणना हुन सक्ने सम्भावना छ ।’ मतगणनामा पहिलेको जस्तो मतपत्र च्यात्ने घटना नहोस् भनेर सतर्कता अपनाउने घिमिरेले बताए ।

वडा नम्बर १९ मा तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्र छन् । ती केन्द्रबाट तीन हजार सात सय ९७ मतदाताले मत खसाल्न पाउनेछन् ।

जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले सबै प्रक्रिया पुरानै हुने र नयाँ कुनै नियम लागू नहुने बताए । उनले भने, ‘मतदानस्थल र मतदान केन्द्र पुरानै कायम हुनेछ, कुनै थपघट हुँदैन ।’

वडा नं. १९ मा ३,७९७ मतदाता
भरतपुर महानगरमा २७ वटा वडाको मतगणना भइसकेको छ । अब निर्वाचन हुन बाँकी वडा नम्बर १९ र २० को गणना हुनेछ । २७ वटा वडाको अन्तिम नतिजाअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । चार हजार ३३१ मतदाता रहेको वडा नम्बर २० मा तीन हजार ३१८ मत खसेको छ । यो वडाको मत गन्न बाँकी छ । त्यस्तै, फेरि मतदान हुन लागेको वडा नं। १९ का तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्रबाट तीन हजार ७९७ जनाले मत खसाल्न पाउनेछन् । आजको नयाँ पत्रिकामा खबर छ ।