असार २१ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले ‘सी अफ जापान’मा मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेका छन् ।
एउटा लिखित वक्तव्यमा उनले अमेरिकाविरुद्ध प्योङयाङले उत्पन्न गराएको खतरालाई त्यसले प्रतिनिधित्व गरेको उल्लेख गरेका छन् ।
बीबीसीका उत्तर अमेरिका सम्पादक भन्छन्, योसँगै उत्तर कोरिया अमेरिकाको अलास्का राज्यसम्म मार हान्न सक्षम भएको छ जसलाई परिस्थिति बदल्न सक्ने विकासक्रमको रुपमा हेरिँदैछ ।
तर यो कुरा स्पष्ट भइसकेको छैन कि उत्तर कोरियाको पछिल्लो कदमलाई लिएर थप कस्ता कूटनीतिक प्रतिबन्धहरु लगाइनेछ ।
सैन्य अभ्यास
वाशिङटनले पछिल्लो घटनाक्रमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको छ । चीन र रुसले पारमाणविक कार्यक्रम स्थगित गर्न उत्तर कोरियालाई आह्वान गरेका छन् । उनीहरुले अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास रोक्न पनि अपील गरेका छन् ।
मस्कोमा भएको भेटवार्तापछि चिनियाँ राष्ट्रपति शी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले प्योङयाङलाई आफ्ना पारमाणविक गतिविधि स्थगित गर्न संयुक्त रुपमा आह्वान गरेका हुन् ।
पहिलो पटक
दक्षिण कोरियाका राष्ट्रपति मून जाए(इनले प्योङयाङविरुद्ध कदम चाल्न सुरक्षा परिषद्लाई आग्रह गरेका छन् । यसअघि मंगलबार ‘सी अफ जापान’मा खसेको क्षेप्यास्त्रले विश्वमा रहेको जुनसुकै निशानालाई मार हान्न सक्ने भन्दै उत्तर कोरियाली टेलिभिजनमा घोषणा गरिएको थियो ।
प्योङयाङले अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रको पहिलो सफल परीक्षण भएको बताएको बीबीसीले जनाएको छ । अमेरिकी अधिकारीहरुले उत्तर कोरियाले अलास्कासम्म क्षेप्यास्त्र आक्रमण गर्न सक्ने ठाने पनि कतिपय विज्ञले त्यसप्रति आशंका व्यक्त गरेका छन् ।