दुवै छोरा उम्मेद्वार वृद्धबुवालाई भोट दिन समस्या

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ २२, २०७४

आँफैले जन्म दिएका दुई छोरा अलग अलग पार्टीबाट गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार बनेपछि  ६८ बर्षीया जञ्जाली रानालाई भोट दिन समस्या परेको छ ।

जेठो छोरा कर्ण बहादुर राना नेपाली कांग्रेसबाट डिलाशैनी गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेद्वार र कान्छा छोरा लोकेन्द्र राना(शितल) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेद्वार बने सँगै बैतडीका रानालाई कस्लाई कत दिने सकस परेको हो ।

‘दुवै पार्टीले मेरा छोरालाई रोजे यसमा म ज्यादै खुशी छु । तर भोट कसलाई दिने हामी घरपरिवार अलमलमा परेका छौं ।’ उहाँले भन्नुभयो, ‘म पञ्चायतकालमा राजनीति गरेको मान्छे हुँ । तर अहिले गाउँ नै घुम्न असजिलो भइरहेको छ । गाउँमा गएपछि तपाईको कुन छोरालाई भोट दिने भन्छन् । मलाई उत्तर दिन साह्रै गाह्रो भइरहेको छ ।’

दुवै छोरा उम्मेद्वार बनेको खुशी भएपनि आफूले गाउँ घुम्न नपाएको निकै दुःखी भएको जञ्जाली रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जीवनको उत्तराद्र्धमा भइरहेको चुनावको गाउँघरमा निकै चहलपहल बढेको छ । मेरो घरमा पनि गाउँलेहरु आउँछन् तपाई कसलाई भोट दिने हो भनेर सोध्छन् मलाई भन्न साह्रै गाह्रो हुन्छ । निर्वाचनको दिन भोट दिन जान्छु मेरो विवेकले त्यो बेला जोलाई भोट दिनु भन्छ म त्यसैलाई भोट दिन्छु ।’

जञ्जाली मात्रै होइन जञ्जालीका अरु घरपरिवारका सदस्यलाई यो चुनावमा भोट हाल्नका लागि निकै समस्या भएको छ । जञ्जालीका ७ छोरा मध्ये दुई छोरा उम्मेद्वार बनेपछि अरु भाईहरुलाई भोट हाल्न समस्या भएको हो। भोट हाल्नकै लागि काठमाडौंबाट जन्मथलो डिलाशैनी पुगेका गोविन्दबहादुर रानालाई आफ्ना दुवै दाजु उम्मेद्वार बनेपछि भोट हाल्नका लागि सकस परेको छ । उहाँले भन्नुभयो‘मेरा दुवै दाजु उम्मेद्वार बनेका छन् । कसलाई भोट दिने मलाई अलमल भइरहेको छ । बुझ्दैछु जुन पार्टीले जनताका लागि काम गर्न सक्छ उसलाई भोट दिन्छु ।’

दुईभाई मध्ये एकजना जित्नेमा राना परिवार ढुक्क छन् । तर राजनीति भएकाले केही भन्न नसकिने जञ्जाली रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘जसले जितेपनि हाम्रै छोरा हुन् । राम्रो काम गर्नेले जितुन मेरो इच्छा त यही छ ।’ साभार अन्नपूर्णपोष्ट