काठमाडौं, वैशाख १७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास निर्माणका लागि थप चार अर्ब रुपैयाँ निकासा गर्न अख्तियारी दिएको छ । भूकम्प प्रभावित जिल्लामा लाभग्राहीबाट माग भएअनुसारको अनुदान अभाव हुन नदिन सो परिमाणको रकम निकासा गर्न प्राधिकरणले स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलाई अख्तियारी दिएको हो ।
भूकम्प अति प्रभावित १४ जिल्ला र कम प्रभावित १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि धमाधम अनुदान वितरण भइरहेकाले रकम अभाव हुन नदिन अग्रिम रूपमै जिल्लामा पठाउने गरी उक्त रकम स्थानीय विकास मन्त्रालयलाई अख्तियारी दिइएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।
निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले यसअघि ४१ अर्ब ७७ करोड ११ लाख रुपैयाँ वितरणको अख्तियारी दिइसकेको छ । जसमा २४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नेपाल सरकारको, पुनर्निर्माण संयुक्त कोषको एक अर्ब ४७ करोड नौ लाख, भारतको पाँच अर्ब दुई करोड, आइडिएको ६ अर्ब १४ करोड १३ लाख, जाइकाको दुई अर्ब ९३ करोड र आइएमएफको पाँच अर्ब रुपैयाँ रहेको छ ।
‘प्रक्रिया र मापदण्ड पूरा गरेका लाभग्राहीले चाहेकै समयमा अनुदान लिएर घर बनाउन सक्छन् । त्यसका लागि रकम अभाव हुन दिँदैनौँ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने । आवश्यक मापदण्ड र प्रक्रिया पूरा गरिसकेका लाभग्राहीले भूकम्प प्रभावित ३१ जिल्लामा धमाधम अनुदान लिइरहेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ ।