नयाँ संरचनाअनुसार मतदाता परिचयपत्रको व्यवस्था

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १२, २०७३

काठमाडौं, चैत १२  । निर्वाचन आयोगले आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा नयाँ संरचनाअनुसार मतदाता परिचयपत्रको व्यवस्था गर्ने भएको छ । ०७० को संविधानसभा निर्वाचनमा आयोगले व्यवस्था गरेको फोटोसहितको मतदाता परिचयपत्रको सट्टा स्थानीय तह निर्वाचनका लागि आयोगले नयाँ परिचय पत्र व्यवस्था गर्ने भएको हो ।

निर्वाचन आयोगले आगामी २० चैतसम्म मतदाता नामावलीको अन्तिम टुंगो लगाउने भएको हो । यसका लागि आयोगले अहिले मतदाता नामावलीमा दोहोरो नाम परेकाहरूको नाम हटाउने, फोटो फरक परेकाहरूको फोटो मिलाउने तथा अन्य कमीकमजोरी सच्याउने काम गरिरहेको आयोगका सूचना अधिकारी अर्यालले जानकारी दिए ।

यसअघिको मतदाता नामावलीमा कतिपय मतदाताको मृत्यु भएको, केहीले बसाइँसराइको निवेदन दिएको कारण नयाँ संरचनाअनुसारको ठेगाना उल्लेख गरेर मतदाता परिचय पत्र बनाइने उनले बताए ।

नयाँ मतदाता परिचय पत्रमा मतदाताको फोटोसहितको नाम, जन्ममिति, जिल्ला, गाउँपालिकाको नाम, वडा, निर्वाचन केन्द्र, बारकोड, नागरिकता नम्बरसमेत उल्लेख गरिने अर्यालले जनकारी दिए । नयाँ मतदाता परिचय पत्रको प्रकाशनको काम २२ चैतबाट गर्ने तयारी आयोगले गरेको छ । आयोग केन्द्रीय कार्यालयमै विशेष सुरक्षाबीच नेपालकै एक निजी कम्पनीले मतदाता परिचय पत्र छपाइको काम गर्नेछ । त्यसका लागि काम नलाग्ने वस्तुका रूपमा उत्पन्न हुने अनावश्यक कच्चा पदार्थको तत्कालै नष्ट गर्नेसमेत आयोगले बताएको छ । आयोगमा हुने मतदाता परिचयपत्र छपाइ स्थलमा कडा सुरक्षा चेक जाँचपछि मात्रै आवश्यक व्यक्तिसमेत जान पाउनेछन् ।

२२ देखि २५ वैशाखसम्ममा आयोगले नयाँ परिचय पत्र मतदाताका हातमा पु¥याउने लक्ष्य लिएको छ । हरेक मतदाताले आफ्नो मतदान केन्द्रमा पुगेर मात्र मतदाता परिचयपत्र लिन सक्नेछन् । निर्वाचन आयोगले मतदाता परिचयपत्र हेलिकोप्टर, हवाइजहाज र गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि नेपाली सेनाको सहयोग लिने निर्वाचन आयोगले बताएको छ । आजको राजधानी राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।