सीमा क्षेत्रमा भारतीय सेना हतियार थुपार्न व्यस्त

Avatar photo
Dhadingpost
सोमवार, अशोज १०, २०७३

धादिङ असोज १०-

india

पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय सेनाले धमाधम हतियार थुपार्न थालेको छ ।सम्भावित युद्धलाई मध्यनजर गर्दै भारतीय सेनाका तर्फबाट तोप, बोफोर्स गन लगायतका आधुनिक हतियारको तैनाथी बढाइएको तथ्य प्रकाशमा आएको छ ।

यद्यपि भारतीय सेनाले हिमपातको मौसम सुरु हुनुअघि नै सीमा क्षेत्रमा हतियार भण्डार गर्ने नियमित कार्यका रुपमा यसलाई व्याख्या गरेको छ । तर गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइनुका साथै सामरिक शक्तिमा समेत बृद्धि गरिएको सैन्य उच्च स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही भारतीय संचारमाध्यमले भने उग्रवादी हमला हुने सक्ने जानकारी गुप्तचरबाट प्राप्त भएको भन्दै उग्रवादीको घुसपैठ र हमला रोक्न सेनालाई आधुनिक हतियारबाट सुसज्जित गर्ने काम भइरहेको जनाएका छन् ।

तर केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा मन्त्रालयस्थित ‘वार रुम’ मा सेनाका उच्च अधिकारी र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग करिब दुई घण्टा छलफल गर्नु, पाकिस्तानले बिहीबार राति इस्लामावादसहित मुलुकका विभिन्न क्षेत्रका आकाशमा लडाकु विमान उडाउनु जस्ता घटनाले दुई मुलुकबीच तनाव उत्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ । (एजेन्सी)