पोखरा भदौ २३
कास्कीको लेखनाथमा पहिरोले घर पुर्दा चार वालवालिकाको ज्यान गएको छ । लेखनाथ ४ खरानी फाटमा घर माथिको ढिस्को खसेर पुरिदा दुई वालिका र दुई वालकको ज्यान गएको हो । दुई जना घाइते छन् ।
अविरल बर्षाको कारण गएराती साढे ११ बजे चद्रकली विकको तीन कोठे कच्ची घर पुरिदा उनकी ९ बर्षीय छोरी रजिना सुनार, ७ बर्षीय अञ्जली विक , १४ बर्षीय छोरा निसान सुनार , ३ बर्षीय नाती सलमान तामाङको ज्यान गएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका छोरी १० बर्षीय सजिना सुनार र २५ बर्षीय कविता सुनारको रातीनै उद्धार गरिएको थियो । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।
त्यस्तै कालिका गाविस ६ को पुनपधेलीमा पहिरो जादा ४८ बर्षीय भिमा तिमल्सिना र ५३ बर्षीय मोदराज तिमल्सिना पनि गम्भिर घाईते भएका छन् । उनीहरुको गण्डकीमा उपचार भैरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।