तीन टुक्रा पारेको अवस्थामा शव बरामद

Avatar photo
Dhadingpost
बुधबार, भदौ २२, २०७३

धादिङ भदौ २२

 

विराटनगर  उपमहानगरपालिका-१३ तीनटोलियाको सिद्धार्थ मार्गमा अक्सफोर्ड ब्वाइज होष्टल सञ्चालन गर्दै आएका सुनसरी औरावनी-५ का २० वर्षीय विनोद यादवको सोमबार राति विभत्स हत्या गरिएको छ । उक्त मार्गमै रहेको ओमकार श्रेष्ठको घरमा प्रहरीले मंगलबार बिहान उनको तीन टुक्रा पारिएको लास फेला पारेको हो । उनको टाउको, खुट्टा र शरिरकोबीच भाग अलग अलग स्थानमा फेला परेको थियो ।

श्रेष्ठको घरमा भदौ १५ गतेदेखि सिरहाका २० वर्षीय राकेशकुमार यादव, १९ वर्षका सरोज यादव र कृष्ण यादव, सप्तरीका १८ वर्षीय जितेन्द्र साह र १३ वर्षका मनोजकुमार साह भाडामा बस्दै आएका थिए । मृतक यादव सोमबार साँझ उनीहरुको कोठामा पार्टी खान गएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए । उनका अनुसार श्रेष्ठको घरमा बस्ने १३ वर्षीय मनोजकुमार साह बाहेक अरु ४ जना फरार छन् । फरार उनीहरुले मनोजलाई कोठामा थुनेर भागेको पाइएको छ । मृतकको सनाखत भइसकेको उल्लेख गर्दै एसपी भण्डारीले भने हत्यामा संलग्नको खोजी भइरहेको बताए ।

कोठामै थुनिएका १३ वर्षीय मनोज प्रहरी नियन्त्रणमा छन् । उनले प्रहरीलाई बताए अनुसार आफूलाई सोमबार राति कोठामा बसेर पढ भन्दै उनीहरु सबै खानपिनमा बसेका थिए । लासको पोष्टमार्टमकालागि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।