धादिङ भदौ २२
बाराको रामपुर टोकनी गाविसमा रहेको बुहराष्ट्रीय कम्पनी डाबर नेपाल प्रालीले सार्वजनीक जग्गा अतिक्रमण गरेर उद्योग चलाइरहेको खुलासा भएको छ । बारा पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित बहुराष्ट्रीय कम्पनी डाबर नेपाल प्रालीले चोर्नी गाविसको ३ बिघा भन्दा बढी ऐलानी जग्गा अतिक्रमण गरेको हो ।
गाविसको साविक कित्ता नम्बर १०२, १०३, ११०, १३९ र १४५ अहिले सि.न. ११३÷०७७ को कित्ता नम्बर १०७, १०८, १०९, ११० र ८९ को पर्ति खाली जग्गा डाबर नेपालले अतिक्रमण गरेको चोर्नी गाविसका सचिव देवीचरण न्यौपानेले बताउनुभयो । गाविसले उद्योगलाई जमिन खाली गर्न पटक पटक ताकेता गरेपनि उद्योग व्यवस्थापनले कुनै सुनवाई नगरेको स्थानीय समाजिक अगुवा रामायण महतोले बताउनुभयो ।
अहिले स्थानीय बासिन्दाको सहयोगमा सार्वजनीक जमिनको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरिएको सचिव न्यौपानेले बताउनुभयो । ‘यस भन्दा अगाडि जिल्ला प्रशासन कार्यालयमा जग्गा संरक्षणका लागि निवेदन दिएका थियौं’ स्थानीय बासिन्दा रामायण महतोले भन्नुभयो, ‘त्यतीबेला सिडिओजीले सार्वजनीक जग्गाको प्रमुख संरक्षक मै हुँ तपाईहरु ढुक्क हुनुहोस भन्नुभएको थियो पछि के भयो जमिन डाबरले नै भोगचलन गरिरहेको छ ।’
उद्योगले दुई जिल्ला छुट्याउने गरी बग्ने कियासोत खोला समेत अतिक्रमण गरेको छ । २०६६ देखि नै ऐलानी जग्गा खाली गराउन प्रयास गरेपनि अहिलेसम्म सुनवाई नभएको बिनादेवी सिलवालले बताउनुभयो । तत्कालिन गाविस मुखिया कैलाश यादवले ०५३ चैत ६ मा उद्योगलाई ऐलानी जग्गा भोगचलनका लागि दिएका थिए । यादवपछि ०५६ मा मुखिया भएका रामबालक महतोले जग्गा २ लाख ५० हजार रुपैयाँमा लिजमा दिएको सम्झौता गरेका थिए । तर डाबर नेपालले गाविसलाई २ लाख ५० हजार बाहेक अन्य कुनै रकम भुक्तानी गरेको छैन ।
त्यस क्षेत्रको जग्गा अहिले प्रति कठ्ठा १० लाख रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गाविस अध्यक्षले अनधिकृत रुपमा डाबर नेपालसँग सम्झौता गरेको सचिव न्यौपाने दाबी छ । पर्साको क्षेत्र नम्बर २ का सभासद बिचारी यादवले सार्वजनीक जग्गाको अतिक्रमण उद्योगले हटाउनु पर्ने बताउनुहुन्छ ।