पोखरा भदौ १९
पोखराको विच भागमै जमिन भासिएपछि स्थानिय त्रसित भएका छन् । पोखराको मुख्य ब्यापारिक क्षेत्र चिप्लेढुङ्गा स्थित पन्थी गल्लीमा जमिन भासिएपछि दुई वटा सटरमा क्षती पुगेको छ भने एक घर जोखिममा परेको छ ।
गएरातिदेखि सुरु भएको जमिन भासिने क्रम अहिलेपनि जारी छ । स्थानिय राधाकृष्ण रौनियारको दुई वटा सटरमा भासिएको छ । दुई मध्ये एउटा सटरमा सञ्चालन गरिएको फेन्सी स्टोर्सको सामान अन्यत्र सारिएको छ ।
पाँच बर्ष अघि रामजी प्रसाद कोईरालाले निर्माण गरेको सटर मध्ये रौनियारले दुई बर्ष अघि दुई वटा सटर खरिद गरेका थिए । १५ हात मोहोडा र ४० हात पिछाड सहितको सटर उनले प्रतिहात ११ लाखको दरमा खरिद गरेका थिए । जमिन भासिएपछि अहिले सटरमा बस्न सक्ने अबस्था छैन ।
त्यस्तै आडमा रहेको प्रेम प्रसाद अधिकारीको चार तले घर पनि जोखिममा परेको छ । झण्डै १० फिट गहिरो गरी जमिन भासिदा वरपर ओडार जस्तो बनेको छ । स्थानिय सडकमा सवारी आवतजावत बन्द गरिएको छ भने वरपर सर्तकता अपनाइएको छ ।