वीरेन्द्रको सालिक प्रहरीले राति हटायो

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १७, २०७३

धादिङ भदौ १७

Birendra-Chok-Nepalganj

नेपालगन्जको धम्बोझी चोकमा बिहीबार पुन:स्थापना गरेको पूर्व राजा स्वर्गीय विरेन्द्र शाहको अर्धकदको सालिक प्रहरीले राति हटाएको छ । सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि हटाइएको थिएन । भीड हटाउन प्रहरीले दुई पटक सामान्य लाठीचार्ज गर्नुपरेको थियो । त्यस क्रममा केही सामान्य घाइते पनि भए ।

सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको हो । ‘झण्डा राख्ने भनेर झुक्याएर सालिक राखियो । त्यसले तनाब उत्पन्न भएपछि सर्वदलीय बैठकले हटाउने निर्णय लिएपछि प्रहरीले झिकेर सुरक्षित ठाउ‘मा राखेको छ’, प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने ।  उक्त चोकमा रहेको वीरेन्द्रको पूर्ण कदको सालिक ०६२/०६३ को जनआन्दोलनताका भत्काइएको थियो ।

खाली चोकमा कसको सालिक राख्ने भन्नेमा दलहरु विभाजित भएपछि राष्ट्रिय झण्डा गाडिएको थियो । राम्ररी नगाडिएकाले पटक–पटक झण्डा ढलेपछि ‘राष्ट्रवादी युवा’को नाममा बिहीवार झण्डा गाड्ने जानकारी प्रहरीलाई गराएर सालिक राखिएपछि विवाद उत्पन्न भएको थियो ।

सालिक पुन:स्थापना गर्न राप्रपा नेपाल, पूर्व राजावादी र शिव सेना सम्बद्ध युवाहरु बिहानै जुटेका थिए । प्रहरी उपरीक्षक राईले भने, ‘विवाद झिक्ने र शान्ति सुरक्षा खल्बल्याउने गरी कसैले काम गर्नुहु‘दैन ।’