धादिङ भदौ १६
दोलखामा बुधबार राति गएको पहिरोमा परि दुई जनाको ज्यान गएको छ । दोलखाको उत्तरी क्षेत्रमा पर्ने लामाबगर गाविस–४ क्षेतक्षेत भन्ने ठाउँमा खसेको पहिरोले ३ घर पुरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार दुई जनाको पुरिएर ज्यान गएको हो । एक जनाको उद्धार गरिएको छ । २१ वर्षका बडुले तामाङ र २० वर्षकी पेम माया तामाङको पहिरोमा परि ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका ५६ वर्षका मिनबहादुर ठकुरीको उद्धार गरि उपचारका लागि चरिकोटमा रहेको अस्पतालमा पठाइएको प्रहरी निरीक्षक कुर्मीले बताउनुभयो ।
पहिरोमा पुरिएर ७ जना बेपत्ता भएका छन् । स्थानीय पहलमान तामाङले दिएको जानकारीअनुसार स्थानीय चाङ्बा तामाङ, तामाङ पत्नी, उनका सासू, छोरा बिक्रम तामाङ र बुहारी र एक नातिनी बेपत्ता छन् । बेपत्ता हुनेमा अर्का एक जना छन् ।
स्थानीय बाघबहादुर तामाङकी पत्नी पनि पहिरोमा पुरिएर बेपत्ता छिन् । पहिरोमा परी स्थानीय मीनबहादुर ठकुरी गम्भीर घाइते छन् । पहिरोमा परी स्थानीय दुई घर पूर्णरुपमा पुरिएको छ ।
दोलखाका प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार उक्त ठाउँमा चारैतिर पहिरो गएकोले उद्दारको निम्ती शसस्त्र, सेना र प्रहरी टोली खटिइसकेको छ ।