धादिङ भदौ १६ ।
ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ ।संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफविरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो ।
सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए ।सिनेटका ८१ मध्ये ६१ जना सिनेटरले महाभियोगको पक्षमा मतदान गरेका थिए । योसँगै ब्राजिलमा रुसेफको वर्कर्स पार्टीको वामपन्थी सरकारको १३ वर्षे शासनकाल अन्त्य भएको छ ।
रुसेफले देशको बजेट हिनामिना गरेको आरोप लागेको थियो । तर उनले भने त्यो आरोप अस्वीकार गरिरहेकी छिन् ।रुसेफको कार्यकाल आगामी सन् २०१९ को जनवरी १ मा सकिँदै थियो । अब बाँकी कार्यकाल कार्यकारी राष्ट्रपति मिसेल टेमरले पूरा गर्ने भएका छन् ।
नरम–दक्षिणपन्थी पीएमडीबी पार्टीका नेता मिसेल टेमलले चाँडै नै राष्ट्रपति पदको सपथ लिने बताइएको छ ।