संविधान दिवस तीन दिन भव्यरुपमा मनाउने निर्णय

Avatar photo
Dhadingpost
बुधबार, भदौ १५, २०७३

धादिङ भदौ १५

1472638718sambidhan-final

। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिले संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक महत्वको स्मरण गर्दै आगामी असोज २ देखि ४ गतेसम्म तीन दिन संविधान दिवस भव्य र हर्षाेल्लासकासाथ मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको मूल समारोह समितिको बैठकले नेपालको संविधान जारी गरेको दिन असोज ३ गते विभिन्न कार्यक्रमका गरी स्वदेश र विदेशमासमेत राष्ट्रिय दिवसकारुपमा भव्यताकासाथ संविधान दिवस मनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालको अध्यक्षतामा गठन गरिएको मूल समारोह समितिले कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न तीनओटा उपसमितिसमेत गठन गर्ने निर्णय गरेको छ ।

संविधान दिवस मूल समारोह समितिमा प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री, मन्त्री, पूर्वप्रधानमन्त्री, उपसभामुख, पूर्वसभामुख, राज्यमन्त्री सदस्य रहेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति, सर्वाेच्च अदालतका न्यायाधीश, सांसद, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, व्यवस्थापिका–संसद सचिवालयका महासचिव, राजनीतिक दलका प्रमुख, संवैधानिक निकाय र विश्वविद्यालयका उपकुलपतिहरु, नेपाल सरकारका सचिवलगायतका महानुभाव मूल समारोह समितिमा सदस्य छन् ।

सूचना तथा सन्चारमन्त्री संयोजक रहेको २२ सदस्यीय प्रचारप्रचार उपसमिति, काठमाडौं महानगरपालिकाका प्रमुखको संयोजक रहेको आठ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यवस्थापन र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १५ सदस्यीय ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थान समन्वय उपसमिति गठन गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा असोज ३ गते बिहान ८ बजे संविधान दिवसको मूल कार्यक्रम सैनिकमञ्च, टुँडिखेलमा हुनेछ ।

उक्त समारोहमा मूल समारोह समितिका अध्यक्ष तथा सदस्य, संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निजामती, प्रहरी, जंगी, तथा संघ–संस्थाका कर्मचारी, प्राध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी, मजदुर, किसान, सामाजिक संघ–संस्थासँग आबद्ध पदाधिकारी, नागरिक समाज र उद्योगी व्यवसायीका साथै सर्वसाधारणकोसमेत उपस्थिति रहनेछ ।

संविधान दिवसको उपलक्ष्यमा असोज २ गते मुलुकभर महानगरपालिका, उपमहानगरपालिका र गाविसले आ–आफ्नो क्षेत्रका विभिन्न स्थानमा राष्ट्रिय झन्डा एवं ब्यानर सजाइ शृंगार र सफाइ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस राष्ट्रिय दिवसकारुपमा भव्यताकासाथ मनाउन सञ्चारमाध्यमबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रिय पत्रपत्रिकामा संविधान विशेषांक र स्मारिका प्रकाशन गर्ने तथा नेपाल टेलिभिजन र रेडियो नेपाललगायतका सन्चारमाध्यमबाट संविधानका महत्वकाबारेमा परिसंवाद कार्यक्रम चलाउने बैठकले निर्णय गरेको छ ।

असोज ३ गते मुख्य समारोहका अतिरिक्त सूर्याेदयकासाथ नेपाली सेनाद्वारा विगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता र संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदको सम्मानका लागि चिरशान्तिको राष्ट्रका तर्फबाट उच्चसम्मान र श्रद्धाञ्जलि प्रकट गर्दै धार्मिक पूजापाठ गर्ने कार्यक्रम बनाइएको छ ।

संविधान दिवस मनाउने सिलसिलामा आगामी असोज ४ गते रेडियो नेपालबाट फूलबारी तथा लोकदोहोरी गीत सम्मेलनको आयोजना गर्ने, साँझ दीपावली गर्ने कार्यक्रम तय गरिएको छ ।

उपत्यकाबाहिरका जिल्लामा सदरमुकाममा जिल्ला विकास समितिका प्रमुखको अध्यक्षतामा तथा स्थानीय निकायमा सम्बन्धित निकायको प्रमुखको अध्यक्षतामा तीन दिनसम्म संविधान दिवससम्बन्धी प्रभातफेरी, प्रवचन, साहित्य गोष्ठी, संवार्ता, खेलकुलजस्ता विविध कार्यक्रम र साँझ दीपावली गर्ने व्यवस्था मिलाइएको छ । रासस

– See more at: http://imagekhabar.com/news/latest/national/7832#sthash.F5pbBuaN.dpuf