धादिङ भदौ १४
स्थानीय विकास मन्त्री हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको अवधिभित्र कुनै पनि हालतमा सबै भूकम्प प्रभावितहरूलाई पहिलो किस्ताको अनुदान रकम दिइनुपर्ने भन्दै त्यसका लागि प्रभावकारी कदम चाल्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।
मंगलबार अपराह्न मन्त्रालयका कर्मचारीहरूको बैठक राखेर सबै भूकम्प प्रभावितहरूले असोज २ गतेसम्म पहिलो किस्ताको अनुदान पाउनुपर्ने भन्दै त्यसका लागि कार्यतालिका संशोधन गरेर कामको गति बढाउन पाण्डेले निर्देशन दिएका हुन्। मन्त्री पाण्डेले अनुदान रकम वितरणका लागि कुनै नीतिगत समस्या भए समाधानका लागि आफू तयार रहेको भन्दै कर्मचारीले बहानाबाजी गरेर उम्किन नपाइने बताए।
बैठकमा मन्त्रालयको भूकम्प आवास पुनर्निर्माण आयोजनाका निर्देशक गणेशराज वस्तीले भने पुनर्निर्माण प्राधिकरणका क्षेत्रीय कार्यालयहरूसँग समन्वय गरेर काम गर्नुपर्ने भएका कारण अनुदान रकम वितरणको काम असोज २ गतेसम्म सक्न निकै चुनौती रहेको बताए।
उनले प्राधिकरणले बैठक भत्ता र खाजा खर्च उपलब्ध नगराएका कारण पुनर्निर्माणको कामबारे समन्वय गर्न स्थानीयस्तरमा रहेका समितिको बैठक आवश्यकता अनुसार बस्न नसकिरहेको बताए।