धादिङ भदौ १४
संसदको राज्य व्यवस्था समितिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वैशाखदेखि भदौ १२ गतेसम्म ४ हजार ३ सय ६५ दुर्घटना भएको जानकारी गराए । ६८ बालक र २८ बालिकासहित वैशाख यता सडक दुर्घटनाबाट मुलुकभर ८ सय १६ जनाले ज्यान गुमाएका छन् । उनले ५ सय ६९ पुरूष र १ सय ५१ महिलाले ज्यान गुमाएको जानकारी दिए । यस्तै, गम्भिर घाइते १ हजार ७ सय ७६ र साधारण घाइते ३ हजार ४ सय ३३ छन् ।
साना गाडी बढी दुर्घटना
गृहका अनुसार दुर्घटना भएका ७ हजार २ सय ९३ सवारी साधन मध्ये साना गाडीहरू कार, जीप, भ्यान बढी दुर्घटना भएका छन् । साना गाडीहरू वैशाख यता २ हजार १ सय ११ दुर्घटनामा परेका छन् । ९ सय २४ यात्रुबहाक बस दुर्घटना भएका छन् । यस्तै, ट्रक ट्यांकर ९ सय ७४, ट्याक्टर १ सय ८२, टेम्पो १ सय ८२ लगायत दुर्घटना परेका हुन् ।
चालकको लापरवाहीमा बढी दुर्घटना
गृह मन्त्रालयले वैशाख यता भएका सवारी दुर्घटनाको विश्लेषणात्मक विवरण अनुसार चालकको लापरवाहीमा सबैभन्दा बढी दुर्घटना भएको देखिन्छ । चालकको लापरवाहीमा ३ हजार २ सय ४६ दुर्घटना भएका छन् । यस्तै, यात्रुको गल्तीमा १ सय ९७, ओभरटेकबाट ८५, तीब्र गतिका कारण ५ सय ७८, मादक पदार्थ सेवनबाट ९४, यान्त्रिक गडबढीबाट १ सय १, ओभरलोडबाट २४, चौपयाबाट १५, सडकको अवस्थाबाट १५ र मौसमको अवस्थाबाट ७ दुर्घटना भएको गृहको तथ्यांक छ ।