पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई तिहारमा टिका लगाउने दिदी विष्णुमाया शिवाकोटीको ७६ वर्षकाे उमेरमा निधन भएको छ । केहि समय देखि फोक्सोको क्यान्सरबाट पीडित शिवाकोटी दुई दिन अघि मात्रै नर्भिक हस्पिटलबाट घर फर्किएकी थिइन् । फोक्सोको क्यान्सर पिडित विष्णुमायाको भारतमा पनि उपचार गरिएको थियो ।
यस्तै, ललितपुरको हरिसिद्धि र नर्भिकमा समेत उनको उपचार गराइएको छोरा बालकृष्ण शिवाकोटीले जानकारी दिए। जेठा बालकृष्ण लगानी बोर्डका सदस्य हुन्। यस्तै, माइला छाेरा रमेश पशुपति विकास काेषका सदस्य छन् । अर्का छोरा उमेश पनि व्यवसायमा संलग्न छन्। विष्णुमायाको सोमबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
विष्णुमायाका ३ छोरा ५ छोरी छन् । पूर्व प्रधानमन्त्री ओलीले बिष्णुमायालाई विगत लामो समयदेखि दिदी बनाएर टिका लगाउँदै आएका थिए। गत वर्ष मात्रै ओली प्रधानमन्त्री हुँदा विष्णुमायाले प्रधानमन्त्री निवास बालुवाटार पुगेरै ओलीलाई टिका लगाइदिएकी थिइन् ।
ओली स्वास्थ्य उपचारकै लागि थाइल्याण्डको बैंकक रहेका बेला विष्णुमायाको यहाँ नेपालमा निधन भएको छ । ओलीले आफ्नो दिदीले अन्तिम सास लिदा भने साथमा रहन पाएनन। दिदीलाई अत्यन्तै माया गर्ने केपी ओलीले उनका सन्तानहरुलाई भाञ्जा भाञ्जीको रुपमा असाध्यै प्रेम गर्छन।