अल्पायुमै बितिजाने यी पाँच गायक

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७३

Khemraj-gurung

प्रतिभा हुनेहरुले उमेरमै आफ्नो छाँट देखाउँछन् ।संसारका ठूला दार्शनिक, साहित्यकार, वैज्ञानिकहरुले ३० वर्ष नकाट्दै आफ्नो प्रतिभा सावित गरेका उदाहरण पाइन्छन् । नेपाली संगीत क्षेत्रमा कलिलो उमेरमै प्रतिभावान देखिएका धेरै गायक छन् । तर, त्यसमा पनि केही नाम छन्, जो कलिलो उमेरमा चर्चाको शिखरमा पुगे, श्रोताको मन जिते तर अल्पायुमै संसार छाडे ।

१. लोकबहादुर क्षेत्री, ३२ वर्ष
आमा रुँदै गाउँबेसी मेलैमा
छोरो रुँदै गोरखपुर रेलैमा !
चालिसको दशकमा रेडियो नेपालमा बज्ने र श्रोताले अनुरोध समेत गर्ने यो गीतका गायक लोकबहादुर क्षेत्री ३२ वर्षमै बिते । नवलपरासीको बर्दघाटमा भएको मोटरसाइकलमा दुर्घटनामा परेर उनको निधन भएको थियो । एफएम रेडियो र युट्युबको चल्ती नभएको समयमा पनि उनका गीत गाउँगाउँमा श्रोताहरु गुन्गुनाउँथे । उनका ‘छमछम नाचिदेऊ निहुरेर’, ‘न्याउली रुँदै के भन्छ, आधा सन्च, आधा बिसन्च’
लगायत गीत लोकगीतप्रेमीबीच खुब रुचाइएका थिए । क्षेत्रीका ‘गाईको चरन’(२०४३), ‘रातो घाम’ (२०४६), ‘नवलपुरे दाइ’ (२०४६) ‘औंठी हीराको’(२०४७) जस्ता अल्बमहरू उत्पादन भएका थिए ।

२. सोम बज्राचार्य, ४६ वर्ष

पारिबाट को आयो ?
सालको पात बजाउँदै
हितकारी मायालाई बोलाउँदै
पोखराका सोम बज्रचार्यको ‘हितकारी माया’ लोकगीतका पारखीदेखि सुगम संगीतका श्रोतासम्मले रुचाएको गीत हो । वज्राचार्य अर्का गायक
तथा संगीतकार सरोजगोपाल बज्रचार्यका भाइ पनि हुन् । उनका लोकलयमा आधारित भजन र अन्य गीत श्रोताबीच रुचाइएका थिए । बज्रचार्यले भजन गीतहरुका तीन वटा छुट्टाछुट्टै शृंखला एल्बम पनि निकालेका थिए । ‘हत्केलाले छेकिएको घाम’ उनको रुचाइएको गीति एल्बम हो । वज्रचार्य ४६ वर्षको उमेरमा बितेका थिए ।
३. अरुण थापा, ४७ वर्ष
ऋतुहरुमा तिमी हरियाली वसन्त हौ
नदीहरुमा तिमी, पवित्र गंगा हौ
अरुण थापाको पनि ३० वर्ष पुग्दा नपुग्दै श्रोताहरुबीच नाम कहलिइसकेको थियो । २०४० को दशकमा उनका गीतले श्रोताहरुलाई नयाँ मिठास दिएका थिए । थापाका ‘भुलुँ भुलुँ लाग्यो मलाई’, ‘चोट के हो ? व्यथा के हो ?’जस्ता गीत अत्यन्तै रुचाइएका थिए । स्वरमा करुणा भरिएको उनको आवाज त्यतिबेलाका अरु चल्तीका गायकहरुको भन्दा भिन्दै थियो । अरुण थापाको अल्पायुको कारक पनि उनको अव्यवस्थित जीवन र खानपिन नै मानिन्छ ।अत्यधिक रक्सी सेवनले उनको स्वास्थ्य बिग्रेपछि २०५६ सालमा ४७ वर्षका उमेरमा उनी बितेका थिए ।

४. कुल पोखरेल, २३ वर्ष
यसपालि दसैँमा ठुल्दाइ आउने रे
बाबालाई रेडियो, आमालाई सारी, भाइलाई घडी
अनि मलाई जिनको पाइन्ट ल्याउने रे !
नयाँ शैलीको पप गायकका रुपमा परिचय बनाउँदै गरेका कुल पोखरेल २३ वर्षको उमेरमै बिते । उनी ०३८ असोज ५ गते नवलपरासीको सुनवलमा जन्मिएका हुन् । पप संगीतमा आउने एउटा पुस्ताको स्वच्छन्दता संगीतको शैलीमा मात्रै नभएर जीवनशैली र खानपानमा पनि विस्तारित थियो । गायक कुलको छोटो आयुको कारण पनि उनको लागू–लत भएको बताइन्छ ।कुलसँग संगत गर्नेहरु उनी राम्रो संगीत गर्न नपाएकोमा पछिल्ला दिनमा तनावमा भएको बताउँछन् । छोटो समयमा राम्रो प्रतिभा प्रदर्शन गर्दै गरेका कुलले २०६१ सालमा आफैले आत्महत्याको बाटो रोजेका थिए । कुलको छोटो जीवन उनकै आदतको परिणति थियो ।
५. खेमराज गुरुङ, ४२ वर्ष
वारि जमुना, पारि जमुना
जमुनाको फेदैमा, मनकामना !
यो गीत बजारमा आउनासाथ खेमराज गुरुङको चर्चा एकाएक चुलिएको थियो । पूर्वेली हाक्पारे शैलीमा गाइएको यो गीत एक कान–दुई कान–मैदान भनेजस्तो देश–विदेशका नेपाली श्रोताहरुसम्म फैलियो । स्थानीय सहरहरूमा हुने महोत्सवदेखि विदेशमा हुने कन्सर्टसम्म उनी ‘वारि जमुना’ गीत लिएर पुग्ने अवसर पाए । ४२ वर्षको उमेरमा गायक गुरुङको निधन भएको छ । खानपानको हेलचक्राइँका कारण उनको स्वास्थ्य बिग्रेको बताइन्छ । उनी जन्डिसबाट ग्रस्त हुँदा समेत रक्सी सेवन छाडेका थिएनन् । संखुवासभाको खाँदबारीमा जन्मिएका गुरुङले पूर्वेली लोकभाकाबाट लोकप्रियता आर्जन गरेका थिए ।
नेपालखबर डटकम