विदेशी खादा प्रयोगमा प्रतिवन्ध लाग्यो

Avatar photo
Dhadingpost
आइतवार, भदौ १२, २०७३

धादिङ भदौ १२

Khada

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आफ्नो मातहतका कुनै पनि कार्यालयमा विदेशी खादाको प्रयोग गर्न प्रतिवन्ध लगाएको छ ।मन्त्रालयले आफु मातहतका विभाग, प्रतिष्ठान, प्राधिकरण, निगमआदी विभिन्न ४० वटा निकायलाई परिपत्र गर्दै मन्त्रालयले आइन्दा स्वागत तथा सम्मानमा विदेशी खादा प्रयोग नगर्न निर्देशन दिएको हो ।

विदेशबाट आयात हुने खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा राज्यकोषबाट बाषिर्क करोडौँ रुपैँया बाहिरिने भन्दै सचिव प्रेमकुमार राईको निर्देशनमा मन्त्रालयले त्यस्तो निर्देशन जारी गरेको हो ।

‘विदेशी खादा रोक्दा राज्य कोषको पैसा जोगिने, नेपाली उत्पादनलाई प्रोत्साहित गर्ने, थोरै भएपनि व्यापार घाटा कम होस् भन्ने उदेश्यले यस्तो निर्णय गरिएको हो,’ सहसचिव शर्माले भने, ‘मन्त्रालयको परिपत्र अनुसार सम्वन्धित कार्यालयले कार्यान्वयन गरेको रिर्पोट आएका छन् ।’

यस्तै खादा प्रयोग गर्नु परेमा नेपालमै उत्पादन भएका ढाका, नेपाली कटन र नेपाली कागजबाट बनेका खादामात्र प्रयोग गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । यसअघि शुक्रबार मन्त्रीको स्वागतका क्रममा पनि मन्त्रालयले एउटा मात्र नेपाली ढाकाको खादा प्रयोग गरेको सहसचिव घनश्याम शर्माले जानकारी दिए ।

यस्तै मन्त्रालयले विदेशी भाषामा लेखिएका खादामा समेत प्रतिवन्ध लगाएको छ । मन्त्रालयले नेपालमा उत्पादन भएको खादामा सम्भवभएसम्म पर्यटन विकासलाई प्रवद्धन गर्ने भाषा र तस्विरको प्रयोग गर्न निर्देशन जारी गरेको हो ।