पोखरा,भदौ १०
नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कँडेलले काँग्रेस र माओवादी केन्द्र नै चुनावबाट भाग्न खोजेको आशंका उब्जिएको उल्लेख गरे । ‘एमाले नेतृत्वमा सरकार रहँदा काँग्रेसले स्थानीय तह पुनर्संरचना पछि मात्र चुनाव भनेर अडान लियो । अहिले चैतमै गर्ने भनेको सुनिन्छ’– कँडेलले थपे– ‘माओवादी केन्द्रको त विचार के हो नै प्रष्ट हुँदैन । माओवादी निर्वाचनबाट भाग्ने गर्छ ।’
एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष समेत रहेका उनले डेढ वर्षभित्र तीन निकायको निर्वाचन गर्नुपर्ने भएकाले नेकपा एमाले जतिसक्दो चाँडो चुनाव गराउने पक्षमा रहेको बताए । मधेशी दल स्थानीय निकाय निर्वाचन विरुद्ध रहेकाले केहि समस्या पर्ने भएपनि संविधानले तोकेकै समयभित्रमा निर्वाचन गर्नुको कुनै विकल्प नरहेको उनको भनाई थियो । नेकपा एमालेलाई जनताले चिनिसकेको र सत्तामा रहँदा वा बाहिर रहँदा पनि जुनै निर्वाचनमा केहि फरक नपर्ने कँडेलले ठोकुवा गरे ।
हालै आठ दिनसम्म चलेको स्थायी कमिटि बैठकले पुनर्संरचना आयोगले सिफारिस गरेको ५६५ कै नजिक रहेर स्थानीय निकाय पुनर्संरचना गर्न एमाले तयार रहेको निष्कर्श निकालेको जनाए । बैठकले एमालेले अबको निर्वाचनमा बहुमत ल्याउने गरी एकता अभियान चलाउने निर्णय गरेको जानकारी दिँदै अब गुटउपगुट अन्त्य गरी एकजुट भएर अघि बढ्ने नेताहरुले संकल्प गरेको दाबी गरे ।
अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुन खतिवडा र सञ्चालन सचिव गोकर्ण अधिकारीले गरेका थिए । सो अवसरमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, एमाले धादिङ प्रचार विभाग सचिव एवं रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, धादिङ पोखरा पत्रकार सोसाईटी अध्यक्ष रञ्जन अधिकारी, सल्लाहकार वीरबहादुर थापा लगायतको उपस्थिति थियो ।