धादिङ भदौ ८
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले असोज ३ लाई कालो दिनका रुपमा मनाउने भएको छ । साथै उसले साँझ केही घन्टा ब्लाकआउट गर्ने निर्णय समेत गरेको छ ।मधेसी मोर्चाले तीनबुँदे सहमति अनुसार मन्त्रिपरिषद्बाट गर्नु पर्ने निर्णयहरु अझैसम्म नभएको र भएका पनि अधुरो भएको भन्दै गृहकार्य गर्न कार्यदल गठनको प्रस्ताव गरेको छ ।
मधेसी मोर्चाको बुधबार बसेको बैठकले नयाँ संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको हो । सरकारले भने असोज ३ मा संविधान दिवस मनाउने निर्णय गर्दै सार्वजनिक विदा समेत दिएको छ ।
बैठकले स्थानीय निकाय पुनर्संरचनाको काम नरोकोमा आपत्ति जनाएको छ । र, उसबारे सरकारसँग कडा रुपमा प्रस्तुत हुने बताएको छ । मधेसी मोर्चाले प्रदेशको सीमांकनबारे सहमति नभएसम्म स्थानीय निकाय पुनर्संरचना रोक्न माग गर्दै आएको छ ।
यसबारे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गर्ने र दुबै पक्षका २/३ जना रहने गरी कार्यदल बनाउने प्रस्ताव गरेको रामसपाका महामन्त्री केशव झाले बताए ।