धादिङ भदौ ७
नेपाल विद्युत प्राधिकरणले पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जीलको विद्युत लाइन सोमबार जोडिदिएको छ । प्राधिकरणले लामो समयदेखि बक्यौता नबुझाएको भन्दै आइतबार महेन्द्र मञ्जीलको लाइन काटेको थियो ।
सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको अनुरोधमा ऊर्जा मन्त्रालयले पत्राचार गरेपछि प्राधिकरणले लाइन जोडिदिएको हो । ऊर्जा मन्त्रालयले पठाएको पत्रमा बक्यौता रकम नेपाल सरकारले अर्थ मन्त्रालयमार्फत भुक्तान गर्ने उल्लेख छ । ‘मन्त्रालयबाट पत्र आएपछि हामीले लाइन जोडिदिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘अर्थ मन्त्रालयले महसुल भुक्तानी गर्ने भनिएको छ ।’
लामो समयदेखि विद्युत महसुल नबुझाउँदा महेन्द्र मञ्जीलको बक्यौता ३७ लाख पुगेको छ । गणतन्त्र स्थापनापछि राजपरिवारका अन्य सदस्यले नारायणहिटी दरबार छाडे पनि रत्नले भने त्यहि बस्ने इच्छा जनाएपछि उनलाई बस्न दिइएको थियो । तर, महेन्द्र मञ्जीलको स्वामित्व भने सरकारकै नाममा रहेको छ ।
काफ्लेले सोमबार पनि महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान जारी रहेको जानकारी दिए । उनका अनुसार सोमबार मुलुकभर गरी कुल ४ सय ४६ ग्राहकको लाइन काटिएको छ । करिब ७ करोड ६८ लाख रुपैयाँ बराबरको बक्यौता बराबरको लाइन काटिएको हो ।