धादिङ साउन ३१
काठमाडौंबाट काभ्रेको कोशीपारि कात्तिके देउराली जाँदै गरेको बा ३ ख १०६ नम्बरको यात्रुबाहक बस विर्तादेउराली–७ खहरेखोला नजिकै दुर्घटनाग्रस्त भएको छ। छतमा समेत गरी ८० जना यात्रु बोकेको सो बस सडकबाट करिब ३ सय मिटर तल खस्दा २५ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता विजयलाल कायस्थले दुर्घटनामा २५ जनाको मृत्यु भएको पुष्टि गरे। ‘२५ जनाको मृत्यु भएको रिपोर्ट अाएको छ। करिब ८५ जना चढेको सो बस दुर्घटनामा ४० जना घाइते भएको प्रारम्भिक रिपोर्ट छ’,
घटनास्थलमा रहेका कात्तिके देउराली गाविसका सब इन्जिनियर नरेश कार्कीका अनुसार दुर्घटनामा २५ जनाकाे मृत्यु भएको छ। ‘अहिलेसम्म २५ जनाको शवलाई सडकमा निकालिएको छ। अन्यको उद्धार कार्य जारी छ। धेरै यात्रु गम्भीर घाइते छन्’,
करिब ४० जना घाइतेलाई बसभित्रबाट बाहिर निकालिएको उनले जानकारी दिए। ‘४० जना घाइतेलाई उद्धार गरिएको छ। बस चालक खुट्ट भाँचिएको अवस्थामा उद्दार गरिएको छ’, उनले भने।
तत्काल उद्धारका लागि हेलिकोप्टर माग
मृतक र घाइते हुनेहरु अधिकांश कात्तिके देउराली, विर्तादेउराली र मादनकुँडारी गाविसका रहेको स्थानीय पुष्करराज पन्तले बताए। उनका अनुसार बसभित्र धेरै मान्छे च्यापिएका छन्। उनीहरुको उद्धार गर्न फलाम काट्ने मेसिन अावश्यक रहेको उनले बताए।
४० भन्दा बढी घाइते रहेको र पानी पर्न लागेकाले तत्काल उद्धारका लागि हेलिकोप्टर अावश्यक रहेको उनले बताए। ‘बसभित्र च्यापिएकाहरुको उद्धार गर्न कठिन भइरहेको छ। उद्धार भएकाहरुलाई तत्काल अस्पताल पुर्याउन हेलिकोप्टर अावश्यक देखिएको छ’, उनले भने।