नेविसंघको महाधिवेशन आजदेखि, देउवाले१ बजे उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
आइतवार, साउन २३, २०७३

धादिङ साउन २३
nbs
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ नेवि सङ्घको ११ आँै महाधिवेशन नौ वर्षपछि आइतबारदेखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबारसम्म चल्ने महाधिवेशनको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायत शीर्ष नेताले सम्बोधन गर्नुहुने नेविसंघले जनाएको छ । महाधिवेशनमा देशभरका जिल्ला, क्याम्पस तथा विदेशस्थित सम्पर्क समितिका गरी झण्डै ३४ सय प्रतिनिधिले भाग लिँदैछन् ।
महाधिवेशनमा भाग लिन धेरै प्रतिनिधि काठमाडौं आइसकेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । सात पटक स्थगित भएको महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्यौलका बिच महाधिवेशन हुने भएपछि नेविसङ्घमा राजनीति गर्दै आएका नेता तथा कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहेको अवस्थामा प्रतिनिधिको विवाद भने अझै मिल्न सकेको छैन ।

सङ्घको दुई वर्षभित्र अधिवेशन नगरे तीन महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुने गरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि अहिले रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।
विसं २०२७ वैशाख ६ गते स्थापना भएको नेविसङ्घमा अहिलेसम्म विपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाण, नारायणप्रकाश साउद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, किशोरसिंह राठौर, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ र रञ्जीत कर्ण अध्यक्ष भइसकेका छन् ।